२४भदौ ।नेपाल राष्ट्र बैंकले अबदेखि एक वर्षभन्दा बढी भुक्तानी अवधि भएका आवधिक कर्जाको ब्याजदर परिवर्तन गर्न नपाइने व्यवस्था गरेको छ। यसअघि बैंकले आफूखुसी ब्याजदर बढाइदिएर बहुसंख्यक ऋणीलाई चपेटामा पारेको गुनासो आएको थियो। ‘एक वर्षभन्दा बढी भुक्तानी अवधि भएका प्रत्येक व्यक्तिगत आवधिक कर्जाको ब्याजदर भुक्तानी अवधिभर परिवर्तन नहुने गरी स्थिर ब्याजदर निर्धारण गर्नुपर्नेछ’, केन्द्रीय बैंकले मंगलबार जारी गरेको एकीकृत परिपत्रमा भनिएको छ।
यो व्यवस्था व्यक्तिको नाममा प्रवाह हुने घर कर्जा, गाडी कर्जालगायत मासिक वा आवधिक किस्तामा भुक्तानी हुने गरी प्रवाह हुने कर्जाका लागि लागू हुनेछ। यसअघि जारी भएका किस्ता भुक्तानीमा आधारित कर्जाका ऋणीसँग स्थिर ब्याजदर कार्यान्वयन गर्ने गरी कर्जाका शर्त सच्याउन राष्ट्र बैंकले भनेको छ। तर, ग्राहकले बैंकको परिवर्तनीय ब्याजदर अनुसार ऋण दिन आग्रह गरेको अवस्थामा भने बैंकले स्थिर ब्याजदर कार्यान्वयन गर्नुपर्ने छैन।
यसअघि बैंकले एकपक्षीय रूपमा कर्जाको व्याजदर बढाएर दोब्बरभन्दा बढी पुर्याउन थालेपछि व्यापक विरोध भएको थियो। स्थिर ब्याजदरले निश्चित आम्दानी भएका ग्राहकलाई बैंकको ऋण लिन सजिलो पर्छ। यसले व्यावसायिक योजना बनाउनमा पनि सघाउ पुर्याउने बैंकर बताउँछन्।