कार्तिक२७।
कर्णाली प्रदेशले कृषकलाई वार्षिक दुई प्रतिशत ब्याजदरमा १ करोड रुपैयाँसम्म् ऋण उपलब्ध गराउने भएको छ।प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि विकास बैंकसँग ब्याज अनुदान कार्यक्रम सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।व्यवसायिक कृषि तथा पशुपालन व्यवसायको प्रवर्द्धन, कृषकहरूको रोजगारी वृद्धि र जीवनस्तर उकास्ने उद्देश्यले प्रदेश सरकारले ब्याज अनुदान कार्यक्रम ल्याएको कृषि मन्त्री बिमला केसीले बताइन् ।
ब्याज अनुदान कार्यक्रम अन्तर्गत प्रदेशका कृषि र पशुपंक्षीका क्षेत्रमा व्यवसाय गर्ने कृषकले अब वार्षिक दुई प्रतिशत ब्याजदरमा एक करोडसम्मको ऋण पाउने छन् । कृषि विकास बैंकले नौ प्रतिशतमा कृषि कर्जा प्रवाह गरिरहेको छ । ब्याज अनुदान कार्यक्रम अन्तर्गत प्रदेश सरकारले सात प्रतिशत ब्याज तिरिदिनेछ । कार्यक्रमले कर्णाली प्रदेशमा कृषिको आधुनिकरण गर्नमा मद्दत पुग्ने अपेक्षा गरिएको छ।