Wed. Apr 23rd, 2025

१५ भदौ ,कालीकोट । पहिरोले तिलागुफा–१ नाग्मका चार घर भत्किँदा एकै परिवारका ४ सहित १० जनाको मृत्यु भएको छ । २ जना बेपत्ता छन् । घटनास्थलबाट उद्धार गरिएका २ जनालाई उपचारार्थ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

नाग्म बजारको पछाडिपट्टिको भिरालो जमिन आइतबार बिहान भासिएर पहिरो जाँदा घरभित्रै रहेकाहरू पुरिएका हुन् । पहिरोले लली नेपाली, मन्दिर कटुवाल, धनपति विक र वीर भेरिकारका घर भत्किँदा पुरिएकामध्ये १० को शव फेला परेको हो ।
शुभकालिका गाउँपालिका–७ घर भई नाग्म बजारमा व्यापार गर्दै आएका एकै परिवाका ४ जनाको मृत्यु भएको छ । ४० वर्षीय प्रयाग शाही, उनकी ७ वर्षीया छोरी हिमा तथा छोराहरू ५ वर्षका नीराजन र डेढ महिनाका अक्कलको घर भत्किएर भित्रै च्यापिँदा मृत्यु भएको हो । यस्तै, सुर्खेतको भेरीगंगा–१० की ४५ वर्षीया आइती खड्का, वीरेन्द्रनगरका २३ वर्षीय अमृत थापा, स्थानीय ३५ वर्षीय मनवीर बडुवाल, २७ वर्षीय टेक भेरिकार, २४ वर्षीय थाइला भेरिकार, १० वर्षीय गजेन्द्र भेरिकारको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख डीएसपी श्यामबाबु ओलियाले सुरुमा ८ र केही घण्टापछि २ जनाको शव फेला परेको बताए । उद्धार टोलीले डोजर पनि लगाएर पहिरो पन्छाउँदै बेपत्ताको खोजी गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *