दाङ, १४ मंसिर
। तुलसीपुरमा पुस ४ गतेदेखि १९ गतेसम्म १५ दिन मेला लाग्ने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तुलसीपुरले यस पटकको मेला लगाउन थालेको छ । उस्ले पनि विगतमा जस्तै हात्ती खौवा चोक नजिकैको खाली जग्गामा मेला लगाउने छ । मेला बारे जानकारी दिन आइतबार महासङ्घले आफ्नै कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेको थियो । कार्यक्रममा महासङ्घका अध्यक्ष लालबहादुर केसीले पहिलेका मेला जस्तै यो वर्ष आफूहरूले मेला ठेक्कामा नदिएको दाबी गरे ।त्यस्तै उनले स्थानीय कृषि र वन सम्बन्धी उत्पादनका स्टलहरू निशुल्क रुपमा राख्न दिने बताए ।
मूल्याङ्कन गरि उत्पादन राम्रो गरेका त्यस्ता स्थानीय किसानलाई पुरस्कृत गरिने प्रतिबद्धता जाहेर गरे ।त्यस्तै अध्यक्ष केसीले तुलसीपुर भित्रका सबै स्थानीय व्यवसायीलाई स्टलमा २५ प्रतिशत छुट दिने निर्णय गरिएको सुनाए । एक सय रुपैयाँको टिकटमा विद्यार्थीलाई २५ प्रतिशत छुट दिइने भएको छ । जेष्ठ नागरिक र अपाङ्गता भएका ब्यक्तिलाई निशुल्क प्रवेश पास उपलब्ध गराइने अध्यक्ष केसीले जानकारी दिए । घरेलु महासङ्घले पहिलो पटक लगाउन थालेको मेलामा अढाइदेखि तीन करोडसम्मको कारोबार गर्ने र त्यसबाट १५ देखि २० लाख बचत गर्ने लक्ष्य राखिएको अध्यक्ष केसीले अनुमान सुनाए । त्यस्तै उद्घाटनका दिन उपस्थित हुने बिभिन्न जात जातिका सांस्कृतिक झाँकी तथा जुलुसहरूको मूल्याङ्कन गरि पुरस्कृत गरिने पनि जानकारी दिइएको छ ।
