पुस, २७-२०८१
विशाल परियार
थारु समाज सुधार उत्थान केन्द्रद्वारा माघि मिलन कार्यक्रम भव्य रूपमा सम्पन्न:
तुलसीपुर उपमहानगरपालिका वडा नं २, कुमालगडिमा थारु समाज सुधार उत्थान केन्द्रको आयोजनामा माघि मिलन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। थारु समुदायको परम्परा, संस्कृति, र एकताको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा २१ वटा टोल विकास संस्थाहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि डिल्ली बहादुर चौधरी, सभापति कुलराम चौधरी, र विशिष्ट अतिथि तुलसीपुर उपमहानगरपालिका उप-प्रमुख स्यानी चौधरी र वडा नं २ का वडा अध्यक्ष भिम वहादुर याेगिले संयुक्त रूपमा उद्घाटन गर्नुभयो।
उप-प्रमुख स्यानी चौधरीले उद्घाटन समारोहमा बोल्दै थारु समुदायको कला र संस्कृतिलाई जस्तोसुकै परिस्थितिमा पनि एकताबद्ध भई जोगाउनुपर्नेमा जोड दिनुभयो। उहाँले वडासँग समन्वय गर्दै आवश्यक परेको ठाउँमा स्थानीय तहले सहयोग गर्ने र थारु समुदायको विकासमा पहलकदमी चाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा थारु समुदायका परम्परागत नृत्य र गीतहरूको विशेष प्रस्तुति दिइएको थियो। मोहत्या नाच, मघौटा नाच, हुड्रुईया नाच, र ढुम्रु गीतको प्रदर्शनले सहभागीहरूलाई मन्त्रमुग्ध बनायो। विशेष गरी माघको अघिल्लो रातभर गाइने ढुम्रु गीतले माघि पर्वको सांस्कृतिक महत्त्वलाई उजागर गर्यो। माघे संक्रान्तिका दिन बिहान खोलामा स्नान गरेर पर्वको विधिवत सुरुवात गर्ने परम्परा उल्लासपूर्ण रूपमा मनाइएको थियो।
कार्यक्रममा थारु समुदायका परम्परागत खानाका परिकारहरू विशेष आकर्षणको केन्द्र रहे। ढिक्री, आलुको अचार, र सुँगुरको मासु लगायत विभिन्न परिकारहरूले सहभागीहरूलाई स्वादिलो अनुभव प्रदान गरेकाे थियाे।
थारु समाज सुधार उत्थान केन्द्रका उपाध्यक्षको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संस्थाकी सचिव कान्छि चौधरीले गर्नुभएको थियो। सहभागीहरूले थारु समुदायको मौलिकता र सांस्कृतिक धरोहरलाई जोगाउन यस्ता कार्यक्रमहरूको महत्त्वपूर्ण भूमिका रहेको भन्दै निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याएका थिए।
यस माघि मिलन कार्यक्रमले थारु समुदायको एकता र सांस्कृतिक संरक्षणमा महत्त्वपूर्ण योगदान दिँदै सहभागीहरूलाई सांस्कृतिक धरोहरप्रति गर्व गर्ने अवसर प्रदान गरेकाे छ।
