हेमन्त वली असार-२०,दाङ।
नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ती मोर्चा नेपाल जिल्ला समिती दाङले आज जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ।
असार १ गतेका दिन संचारकर्मी,कलाकार एवम जातव्यवस्था उन्मुलन मोर्चा,नेपालकी केन्द्रिय सदस्य रुपा सुनारमाथी गरिएको जातिय विभेद तथा छुवाछुतको ज्यादतीपुर्ण घटना र घटनाका दोषी घरधनी सरस्वती प्रधानलाई कार्वाहीको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ। घटनामा शिक्षा,बिज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले पद र शक्तिको दुरुपयोग गरि दोषीलाई थुनामुक्त गराइ आफ्नै गाडिमा निवास पुर्याएको घटनाले पुजीवादी संसदीय व्यवस्थाको कथित संबिधान र कानुनी राजको मुकुण्डो च्यातिएको स्पष्ट उल्लेख गरिएको छ।
दलित मुक्ती मोर्चा नेपालका केन्द्रिय सदस्य सीता विक(क.सम्झना)को नेतृत्वमा ज्ञापनपत्र बुझाइएको हो।
ज्ञापनपत्रमा जातिय बिभेद तथा छुवाछुत गर्ने घरधनि सरस्वती प्रधानलाइ थुनामा राखी कानुनी कार्वाही अघि बढाउनुपर्ने,दोषीलाई संरक्षण गर्ने शिक्षा,बिज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठलाई पदमुक्त गरि कार्वाही गर्नुपर्ने,सामाजिक संजाल एवम अनलाइन मिडियामा जातिय बिभेदजन्य क्रियाकलाप गर्ने प्रकाशन गृह र पत्रकारलाइ साइवर क्राइम अन्तर्गत कार्वाही प्रक्रिया अघि बढाउनुपर्ने,अनुसन्धानमा लापरबाही गर्ने र निवेदन दर्ता गर्न आनाकानी गर्ने प्रहरी प्रशासन तथा कानुनी कार्वाहीको लागि मुद्दा अगाडी बढाउन नमान्ने सरकारी वकिलहरुलाइ कार्वाही गरि यथासिघ्र मुद्दा अघि बढाउनुपर्ने,सरकारले पीडित रुपा सुनारको शान्ती सुरक्षाको व्यवस्था गर्नुपर्ने,देशका विभिन्न ठाउमा घटिरहेका जातिय विभेद तथा छुवाछुतका अन्य घटनाहरुको गम्भीरतापुर्वक छानविन गरि दोषीलाई कारवाही,पीडितलाई न्याय र क्षतिपूर्तिको उचित व्यवस्था गर्नुपर्ने जस्ता महत्वपूर्ण मागहरु राख्दै ज्ञापनपत्र बुझाइएको दलित मुक्ती मोर्चा नेपाल दाङका सचिब केशर विकले बताए।
ज्ञापनपत्र पेश गर्ने कार्यक्रममा नेकपा घोराही नगर इन्चार्ज तिलक,नेकपा लमही नगर इन्चार्ज जनकको सहभागिता रहेको थियो।