Sat. Dec 14th, 2024

४ काठमाडौ – नेकपा (मसाल) तथा राष्ट्रिय जनमोर्चान निकट प्रगतिशील पत्रकार संघ नेपालकाे केन्द्रीय अध्यक्ष संगै मसालबाट ३२ वर्षे आबद्धता त्याग्दै राजिनामा दिएकाे झन्डै तीन महिना पछि नेपाल पत्रकार महासंघका उपाध्यक्ष समेत रहेका उदय जिएमले माओवादी केन्द्रमा प्रवेश गरेका छन।

जिएमलाई चैत १ गते मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रवक्ता कृष्णबहादुर महरा र प्रेस सेन्टरका अध्यक्ष बिष्णु सापकोटा लगायतले पार्टी प्रवेश गरे संगै माओवादी केन्द्र निकट प्रेस सेन्टरमा समाहित भएको भन्दै स्वागत गरेका थिए।

लुम्बिनी प्रदेश दाङबाट पत्रकारिता गर्दै आएका जिएम वि.स २०५४ साल यता मूलधारको नेपाली पत्रकारितामा क्रियाशील छन। उनी मूलधारका सञ्चारमाध्यमहरु अन्नपूर्ण पोष्ट, सगरमाथा टीभी, दैनिक अनलाइन, पहिलोपेज डटकम लगायतमा कार्यरत रहि कलम चलाउदै आएका छन।

मसाल निकट प्रगतिशील पत्रकार संघ नेपालकाे संस्थापक केन्द्रीय सदस्य, दुई कार्यकाल महासचिव हुँदै हाल संघको अध्यक्षकाे जिम्मेवारी पाएका जिएमले गत पुस ७ गते नेकपा (मसाल) बाट अलग हुदै त्यस निकटकाे प्रगतिशील पत्रकार संघ नेपालकाे केन्द्रीय अध्यक्षबाट राजिनामा दिएर स्वतन्त्र रहेकाे घाेषणा गरेका थिए।

जिएमकाे राजिनामा विज्ञप्ति

मैले २०४६ सालदेखि अविचलितरुपमा नेपाल कम्युनिष्ट पार्टी (मसाल) तथा राष्ट्रिय जनमोर्चानिकट रहेर उसको विचार, राजनीति, सिद्धान्तलाई सर्वोपरि ठान्दै आएको सबैमा अवगत नै छ। वैचारिक आस्थाका हिसावले नेकपा (मसाल)मा दृढ रहँदै पछिल्ला करीव २५ वर्ष नेपाली मूलधारको पत्रकारितामा सक्रिय रहेको पनि सबैलाई अवगत नै छ।

यस अवधिमा शुरुका केही वर्ष पूर्णकालीन कार्यकर्ताका रुपमा अखिल भारत नेपाली एकता समाजका विभिन्नस्तरका समितिहरुमा क्रियाशील रहनुका साथै एकता समाजको केन्द्रीय कार्यालय सञ्चालन र मुखपत्र “नेपाली एकता”को प्रकाशनको जिम्मेवारी निर्वाह गरें। अखिल नेपाल जनजाति सम्मेलन (भारत शाखा)को जिम्मेवारीमा रहँदै मुखपत्र “जनजाति लहर”को प्रकाशनमा संलग्न रहें भने त्यसकै केन्द्रीय समितिको प्रकाशन विभाग र मुखपत्र “जनजाति आवाज”को प्रकाशनमा पनि संलग्न रहें ।

२०५४ सालयता मूलधारको नेपाली पत्रकारितामा क्रियाशील रहेतापनि प्रगतिशील पत्रकार संघको संस्थापक केन्द्रीय सदस्य, दुईपटक महासचिव हुँदै हाल संघको अध्यक्षको रुपमा क्रियाशील छु। यही निरन्तरता र क्रियाशीलताका कारण अघिल्लो कार्यकालमा नेपाल पत्रकार महासंघको केन्द्रीय सचिव हुँदै हाल केन्द्रीय उपाध्यक्षको जिम्मेवारी बहन गरिरहेको अवगतै छ।

नेपाली कम्युनिष्ट आन्दोलन टुटफुट, विभाजन, एकता अनि ध्रुवीकरणको प्रक्रियाबाट अगाडि बढ्दै आएको इतिहास छ। विचार र सिद्धान्तमा मतैक्यता नभएपछि दुई लाइनको संघर्षलाई स्वस्थ र स्वच्छरुपमा सञ्चालन नगरी एकअर्काको राजनीतिक जीवन र इतिहास समाप्त पार्ने प्रवृत्ति छ। विचार र सिद्धान्तको पक्षधरतालाई व्यवहारको संकीर्णता र असहिष्णुताले थिच्दैमिच्दै आएको पनि इतिहास छ।

यही रोगको शिकार यतिबेला नेपाल कम्युनिष्ट पार्टी (मसाल) तथा राष्ट्रिय जनमोर्चा र त्यसका भातृ तथा शुभेच्छुक संगठनहरु र तिनका नेता÷कार्यकर्ताहरु भइरहेका छन् । केही आरोपहरु र कथित आरोपहरु, केही विमतिहरु र कथित विमतिहरुको पुलिन्दा बाँधेर अर्को पक्षलाई खुइल्याउने र समाप्त पार्ने अभियान चलिरहेका छन् । यस्तो अवस्थामा डिलमा बसेर रमिता हेर्न नसकिने भएकाले आजैको मितिदेखि प्रगतिशील पत्रकार संघ, नेपालको केन्द्रीय अध्यक्षको जिम्मेवारीमा नरहेको र स्वतन्त्र भएको जानकारी गराउँछु।

यसक्रममा हाइस्कूल पढ्दा नै मनमस्तिष्कमा राजनीतिक चेतको बिजारोपण गरिदिने आदरणीय गुरु कृष्णबहादुर महरा, भारतमा रहँदा संगठित गर्नेदेखि मेरा हरेक कदमहरुमा साथ, सहयोग र समर्थन गर्नुहुने आदरणीय महेश जीसी, मित्रलाल शर्मा, गिरधारीलाल न्यौपाने, डिलाराम आचार्य लगायतका नेतागणहरुलाई सम्मान व्यक्त गर्न चाहन्छु।

मलाई संगठनको उच्च जिम्मेवारी प्रदान गर्नुहुने श्रद्धेय नेताहरु नेकपा (मसाल)का महामन्त्री क. मोहनविक्रम सिंह, वरिष्ठ नेता आदरणीय चित्रबहादुर केसी, दुर्गा पौडेल, कृष्ण अधिकारी, सुरेश थापालगायतका नेतृत्वगणप्रति उच्च सम्मान व्यक्त गर्दछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *