१७भदौ,काठमाडौं। सरकारले कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा फैलिएको भन्नेबारेमा अध्ययन गर्ने भएको छ । कोभिड–१९ को सङ्क्रमण सबै समूहका मानिसमा देखिरहेको र ट्राभल हिस्ट्रीमा नदेखिएका व्यक्तिमा पनि सङ्क्रमण देखिन थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले समुदायमा फैलिएको हो वा होइन भन्ने अध्ययन गर्न थालेको हो ।
यसअघि गत जेठ महिनामा महाशाखाले काठमाडौँ उपत्यकामा पनि समुदायस्तरमा सङ्क्रमण फैलिएको छ वा छैन भनेर अध्ययन गरेको थियो । सो अध्ययनले उपत्यकामा समुदायस्तरमा सङ्क्रमण नफैलिएको बताएको थियो । त्यतिबेलाभन्दा अहिले काठमाडौँ उपत्यकामा सङ्क्रमण दर बढिरहेको छ । हिजोमात्र ४८१ जनामा सङ्क्रमण देखिएको थियो ।
“सङ्क्रमणको सूचक हेर्दा अहिले समुदायस्तरमा नै हो कि भन्ने देखाउँछ”, उनले भने, “अब अध्ययन गरेपछि मात्र समुदायमा सङ्क्रमण छ वा छैनन् भन्ने पुष्टि गर्दछ ।” महाशाखाले विश्व स्वास्थ्य सङ्गठनको प्राविधिक सहयोगमा अध्ययन गर्न थालेको हो । अध्ययनका लागि महाशाखाले शुक्रबारसम्म कर्मचारी छनोट गर्ने र ती कर्मचारीलाई तालिम दिएर सातवटै प्रदेशमा रगत सङ्कलनका लागि पठाउने महाशाखा निर्देशक डा पाण्डेले बताए ।
सातवटै प्रदेशमा सङ्क्रमण बढी फैलिएका ठाउँमा गई छ हप्तादेखि कतै नगएका व्यक्तिको रगत सङ्कलन गरिने छ । महिला, पुरुष, बालबालिका र वृद्धा सबैको एन्टिबडी परीक्षण गरिनेछ ।
एलाइजा विधिबाट एन्टिबडीको परीक्षण गरी नेपालमा समुदायस्तरमा फैलिएको छ वा छैन भन्ने पत्ता लाग्नेछ । सातवटै प्रदेशबाट सङ्कलन भएको रगतको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गरिनेछ ।