रोल्पा ५ माघ । वेपत्ता भएको ६ महिनापछि स्थानीय ठाकुर नेपालीको कंकाल फेला परेको छ । रोल्पाको त्रिवेणी गाउँपालिका–६ रिजाका ४५ वर्षिय ठाकुर नेपाली गत असार २३ गते बेलुकी देखि वेपत्ता भएका थिए ।
छिमेकीको घरमा रक्सी लिन गएका ठाकुर वेपत्ता भएपछि छिमेकी लोकेन्द्र खड्काले यसअघि नै हत्या गरेको स्वीकोरे तापनि शव अझैसम्म पनि भेटिएको थिएन ।
माघ २ गते बिहान ७ बजे रोल्पा त्रिवेणी गा.पा.वडा नं. ६ निम्टेखोला स्थित लौटे भिर देखि तलको पाखोमा रुखमुनी मानवको कंकाल (हड्डी) फेला परेको भन्ने सूचना प्राप्त भए पश्चात इलाका प्रहरी चौकी जुगारबाट चौकी इन्चार्ज सइ नन्दकुमार पोख्रेल नेतृत्वको टोलीले घटना स्थलमा पुगेको थियो ।
लगत्तै इलाका प्रहरी कार्यालय होलेरी रोल्पाबाट प्रहरी निरीक्षक जिवराज थापा क्षेत्री सहितको अनुसन्धान टोली खटिएको टोलीले घटनास्थलमा मानवको जस्तो देखिने हड्डीहरु नजिकै हाफपाईन्ट, टि–सर्ट, लाभा कम्पनिको मोबाईल सेट र टर्च लाईट फेला परेको थियो । उक्त टर्च लाईट, मोवाइल सेट, कपडाहरू आफ्नो श्रीमान ठाकुर नेपालीको रहेको भन्दै ठाकुर नेपालीकी श्रीमती हिमा नेपालीले सनाखत गरेकी थिइन । घटनास्थलको मुचुल्का पश्चात मानव कंकाल (हड्डि) परीक्षणको लागि संकलन गरी त्रि.वि. शिक्षण अस्पताल महाराजगंज पठाउने कार्य भई रहेको र अनुसन्धान कार्य जारी रहेको प्रहरी नायव निरीक्षक पोखे्रलले बताए ।