कार्तिक ११।
हास्यकलाकार मनोज गजुरेलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सामान्य लक्षण देखिएपछि आइतबार बिहान स्वाब दिएका गजुरेलको पोजिटिभ रिपोर्ट सोमबार आएको हो । बिहीबारपछि टाउको दुख्यो, शुक्रबार ९८ डिग्रीसम्म ज्वरो देखियो र शनिबार ढाड दुखेपछि गजुरेलले पीसीआरका लागि स्वाब दिएका थिए ।
कोरोना पुष्टि भएपछि सेल्फ आइसोलेसनमा रहेको जानकारी सामाजिक सञ्जालमार्फत् गजुरेलले दिएका छन् । ‘बिहिबारदेखि नै आइसोलेसनमा छु । दाजु र मलाई पोजेटिभ देखिएकोले सेल्फ आइसोलेसनको कडा पालना सहित घरेलु उपचारमा छौँ’, गजुरेलले फेसबुकमा लेखेका छन्, ‘मलाई अहिले गार्हो हुनेखालका सिमटम्स छैनन् तर पनि आफू र अरुको स्वास्थ्यलाई ध्यानमा राखेर गुप्तवासमा रहेको जानकारी गराउन चाहान्छु ।’
गजुरेलले सचेत हुन सबैलाई आग्रह गरेका छन् । उनले नआत्तिन र चिकित्सकको सल्लाह अनुसार आइसोलेसनमा बस्न भनेका छन्। उनले आफू जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षितको सुझाव अनुसार उपचार गराइरहेको बताएका छन् । कलाकार गजुरेलले कोरोना भन्दा आफ्नो शारीरिक, मानसिक र आध्यात्मिक ऊर्जा बलियो भएको भन्दै कोरोना जित्ने बताएका छन्।