तुलसीपुर महोत्सवमा आज चर्चित गायक रमेशराज भट्टराई आउने
दाङ, १२ पुस ।
दाङको तुलसीपुरमा जारी प्रथम तुलसीपुर महोत्सवमा दिनप्रतिदिन रौनकता बढ्दै गएको छ । महोत्सवको नवौँ दिन शनिबार आज पनि राष्ट्रिय तथा स्थानीय कलाकारको सांगितिक प्रस्तुति रहने छ ।
महोत्सवमा आज ‘बहुला’ गायकको रुपमा परिचित चर्चित गायक रमेशराज भट्टराई आउनु हुने भएको छ । साँस्कृतिक संयोजक टिकाजंग वलीका अनुसार आज शनिबार गायक भट्टराईको प्रस्तुति रहने भएको हो ।
गायक भट्टराईलाई धेरैले बहुला गायककको रुपमा चिन्दछन् । उहाँले स्वर दिएका थुप्रै गित हिट भएपनि ‘बेहुला बनाउँछु भन्थी, बहुला बनाएर गई’ यो गितबाट चर्चाको शिखरमा आएका भट्टराईको प्रस्तुति रहने संयोजक वलीले बताउनुभयो ।
यस्तै चर्चित भाइरल गायिका रेखा पोखरेल, राजेन्द्र चौधरीको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ । आज एचआर मगरले उद्घोषण गर्नुहुनेछ । महोत्सवमा शुक्रबार पनि अत्याधिक दर्शकको सहभागीता रहेको थियो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा पुस ४ गतेदेखि महोत्सव संचालन भइरहेको छ । महोत्सवमा पनि दर्शकको सहभागीता अत्याधिक हुने अनुमान गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक लाल बहादुर केसीले बताउनुभयो ।
महोत्सवमा दिनप्रतिदिन देखिने दर्शकको उपस्थितिले महोत्सव आयोजकलाई उत्साह थपेको उहाँले बताउनुभयो ।
‘स्थानीय वस्तुको प्रवद्र्धन गरौँ, औद्योगिक वातावरणको सुधार, दिगो अर्थतन्त्रको आधार’ भन्ने मूल नाराका साथ संचालन भइरहेको महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शनी संगै लण्डन ब्रिजदेखि जलपरी दर्शकको आर्कषणको केन्द्र बनेका छन् ।
महोत्सवमा दैनिक दर्शकको उपस्थिति अत्याधिक हुँदा आयोजकलाई थप उत्साह थपिएको महोत्सव मूल आयोजक समितिका सदस्य सचिव भद्र बहादुर वलीले बताउनुभयो ।
