तुलसीपुर महोत्सवमा प्रकाशको ‘क्रेज’ : सङ्गीतभित्रै आँशु र उमङ्ग
दाङ, ११ पुस ।
दाङको तुलसीपुरमा जारी ‘प्रथम तुलसीपुर महोत्सव’को आठौँ दिन आज गायक प्रकाश सपुतको आगमनसँगै मेलास्थलमा उत्साहको ज्वारभाटा उर्लियो ।
दर्शकको अभूतपूर्व उपस्थितिले महोत्सव परिसर खचाखच भरिएको मात्र थिएन, सपुतको गायकीले दर्शकलाई कहिले भावुक बनायो त, कहिले उत्साहले उफ्रिएर नाच्न बाध्य पार्यो ।
महोत्सवको मञ्चमा सपुतले जब आफ्नो साङ्गीतिक यात्रा सुरु गर्नुभयो, वातावरण स्तब्ध बन्यो । उहाँले सुरुवाती चरणको प्रस्तुतिमा ‘बोल माया बोल’, ‘यो देश मेरो पनि होइन र ?’ र ‘छाती चिरिन्छ’ जस्ता मार्मिक गीतहरू पस्किनुभयो ।
वैदेशिक रोजगारीको पीडा र राष्ट्रभक्ति झल्काउने ती गीतहरू सुन्दै गर्दा धेरै दर्शकहरूका आँखा रसाएका थिए । सपुतको स्वरमा मिसिएको संवेदनाले मेलास्थलमा एक प्रकारको गम्भीरता र भावनात्मक माहोल सिर्जना गरेको थियो ।
तर, साँझ छिप्पिँदै जाँदा माहोलले अर्कै मोड लियो । सपुतले जब आफ्ना चर्चित लोकदोहोरी र ठेट गीतहरू गाउन सुरु गर्नुभयो, तब दर्शकको आँशु मुस्कान र ऊर्जामा बदलियो ।
चिसो मौसमको प्रवाह नगरी दर्शकहरू सपुतको तालमा झुम्न थाले । उहाँले ‘झमके साँझ’, ‘तिमी मलाई प्रलय नै मन पर्छ’, ‘के लाउनी रैछ र मनै जितेसी’ जस्ता हिट गीतहरू गाउँदा महोत्सवस्थल सङ्गीतमय बनेको थियो ।
सपुतले दर्शकलाई मोबाइलको लाइट बाल्न आग्रह गर्दा हजारौँ मोबाइलका प्रकाशले महोत्सवस्थल कुनै तारामण्डल झैँ झिलिमिली देखिएको थियो । दर्शकको अत्याधिक माया र साथ पाएपछि हौसिएका सपुतले पनि निकै ऊर्जाका साथ आफ्ना प्रस्तुति दिनुभयो ।
‘कलाकारका लागि दर्शकको ताली र आँशु दुवै उत्तिकै मूल्यवान् हुन्छन् । आज तुलसीपुरले मलाई जुन माया दियो, त्यो सधैँ स्मरणीय रहनेछ ।’ सपुतले मञ्चबाटै आभार प्रकट गर्नुभयो । महोत्सवमा आज गायकसंगै सागर वली, कालिका राना लगायतको पस्तुति रहेको थियो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा पुस ४ गतेदेखि महोत्सव संचालन भइरहेको छ । महोत्सवमा आज प्रकाश सपुतको प्रस्तुतिले हालसम्मकै ठुलो भिड र रौनक थपेको महोत्सव मूल आयोजक समितिका संयोजक लाल बहादुर केसीले बताउनुभयो ।
महोत्सवमा बिहिबार पनि दर्शकको उपस्थिति उत्तिकै थियो । महोत्सवमा दिनप्रतिदिन देखिने दर्शकको उपस्थितिले महोत्सव आयोजकलाई उत्साह थपेको र आगामी दिनमा पनि यतिकै दर्शकको साथ पाउने आयोजकको अपेक्षा गरेको छ ।
‘स्थानीय वस्तुको प्रवद्र्धन गरौँ, औद्योगिक वातावरणको सुधार, दिगो अर्थतन्त्रको आधार’ भन्ने मूल नाराका साथ संचालन भइरहेको महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शनी, बाल उद्यान, रोटे पिङ, अटो मोबाइल्स, सूचना प्रविधिको प्रदर्शनी पनि भइरहेको छ । यस्तै महोत्सवमा लण्डन ब्रिजदेखि जलपरी दर्शकको आर्कषणको केन्द्र बनेका छन् । महोत्सवमा दैनिक दर्शकको उपस्थिति अत्याधिक हुँदा आयोजकलाई थप उत्साह थपिएको महोत्सव मूल आयोजक समितिका सदस्य सचिव भद्र बहादुर वलीले बताउनुभयो ।
भोलि ‘बहुला’ गायक आउने
महोत्सवमा भोलि चर्चित गायक रमेशराज भट्टराई आउनु हुने भएको छ । साँस्कृतिक संयोजक टिकाजंग वलीका अनुसार भोलि शनिबार गायक भट्टराईको प्रस्तुति रहने भएको हो । गायक भट्टराईले धेरैले बहुला गायककको रुपमा चिन्दछन् । उहाँले स्वर दिएका थुप्रै गित हिट भएपनि ‘बेहुला बनाउँछु भन्थी, बहुला बनाएर गई’ यो गितबाट चर्चाको शिखरमा आएका भट्टराईको प्रस्तुति रहने संयोजक वलीले बताउनुभयो । यस्तै चर्चित भाइरल गायिका रेखा पोखरेल, राजेन्द्र चौधरीको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ । भोलि एचआर मगरले उद्घोषण गर्नुहुनेछ ।
