तुलसीपुर महोत्सवमा प्रकाश दुतराजको दमदार प्रस्तुति : चिसो मौसममा पनि तातियो माहोल
दाङ, १३ पुस । दाङको तुलसीपुरमा जारी ’प्रथम तुलसीपुर महोत्सव’मा दिनप्रतिदिन रौनकता बढ्दै गएको छ । महोत्सवको आज दशौँ दिन पनि दर्शकको उल्लेख्य सहभागीता देखिएको थियो । आज चर्चित गायक प्रकाश दुतराजको प्रस्तुतिमा दर्शकहरु रमाएका छन् । महोत्सवमा साँझसम्म पनि निकै सांगीतिक र उल्लासमय वातावरण बनेको थियो ।
गायक दुतराज मञ्चमा उक्लिँदा दर्शकको उत्साहले महोत्सव स्थल गुञ्जायमान भएको थियो । चिसो मौसमका बाबजुद पनि दुतराजका चर्चित गीतहरू सुन्न र दुतराजसँगै झुम्न हजारौँको संख्यामा दर्शकहरू साँझसम्मै मैदानमा थिए । उहाँका लोकप्रिय सिर्जनाहरू ‘घर कता हो बैनीको’, ’जाम भो माइली’, ’चोखो माया’ जस्ता गीतहरूमा युवादेखि वृद्धवृद्धासम्म झुमेका थिए ।
महोत्सवको रौनकलाई थप उचाइमा पुर्याउन प्रकाशको प्रस्तुति आजको मुख्य आकर्षण बनेको हो । उहाँले आफ्ना गीत मात्र गाउनुभएन । दर्शकहरूसँग संवाद गर्दै र उनीहरूलाई नचाउँदै माहोललाई निकै रोचक बनाउनुभएको थियो । दर्शकहरूको दिनप्रतिदिन उल्लेख्य सहभागिताले आयोजकलाई समेत उत्साहित बनाएको छ ।
महोत्सव मूल आयोजक समितिका संयोजक लाल बहादुर केसीले महोत्सवमा दैनिकजसो हुने दर्शकको सहभागीताले निकै उत्साहित बनाएको बताउनुभयो । उहाँले भोलि पनि दर्शकको सहभागीता बढ्ने अनुमान गरिएको बताउनुभयो । महोत्सवमा आज गायक दुतराजसंगै गायक थम्मन भण्डारी, गायिका कलावती केसी लगायतको प्रस्तुति रहेको थियो ।
स्थानीय वस्तुको बजारीकरण, औद्योगिक वातावरण निर्माण गर्न महोत्सवको आयोजना गरिएको हो । नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा पुस ४ गतेदेखि शुरु भएको महोत्सव १९ गतेसम्म संचालन हुने छ । महोत्सव मूल आयोजक समितिका सदस्य सचिव भद्र बहादुर वलीले दैनिकजस्तो महोत्सवमा कारोबार पनि उत्साहजनक हुने गरेको बताउनुभयो ।
भोलि पुस्कल र प्रिति आउँदै
तुलसीपुरमा जारी महोत्सवमा भोलि ११ औँ दिन पनि चर्चित कलाकारको प्रस्तुति रहने छ । सांस्कृतिक संयोजक टिकाजंग वलीका अनुसार भोलि चर्चित गायक पुस्कल शर्मा, चर्चित गायिका प्रिति आले, हाँस्य कलाकार पुरुषोत्तम भण्डारी पुर्खे बा लगायतका कलाकारको प्रस्तुति रहनेछ । यस्तै लोकदोहोरी, सामुहिक लोक नृत्य प्रतियोगिता, स्थानीय कलाकारको पनि प्रस्तुति रहनेछ ।
