तुलसीपुर महोत्सवमा सातौँ दिन आज उर्लियो जनसागर
दाङ, १० पुस ।
दाङको तुलसीपुरमा जारी ‘प्रथम तुलसीपुर महोत्सव’मा आज दर्शकहरूको थामिनसक्नु भिड लागेको छ । महोत्सवको सातौँ दिन आज गाउँ–गाउँबाट हजारौँको संख्यामा दर्शकहरू ओइरिएपछि महोत्सवस्थल खचाखच भरिएको हो ।

महोत्सवमा आज दर्शकको उपस्थिति अहिलेसम्मकै उच्च देखिएको महोत्सव मूल आयोजक समितिका संयोजक लाल बहादुर केसीले बताउनुभयो । संयोजक केसीले महोत्सवले अपेक्षा गरेभन्दा बढी सफलता पाउँदै गएको बताउनुभयो ।
दर्शकको अत्याधिक चाप देखिएपछि व्यापार व्यवसायमा पनि उल्लेख्य वृद्धि भएको छ । दर्शकको चाप बढेसँगै महोत्सवस्थलमा खुट्टा राख्ने ठाउँसमेत थिएन । महोत्सवको सांस्कृतिक मञ्चतर्फ चर्चित लोकदोहोरी गायक खुमन अधिकारीको प्रस्तुतिले दर्शकहरूलाई झनै रौनताका देखिएको थियो ।
अधिकारीले आफ्ना दर्जनौँ चर्चित गीतहरू गाउँदा दर्शकहरू नाचेर साथ दिएका थिए। महोत्सवका विभिन्न स्टलहरूमा ग्राहकको भिड लागेको छ भने जलपरीदेखि लण्डन ब्रिजमा फोटो खिच्ने र भिडियो बनाउनेको भिड अत्याधिक भिड देखिएको छ । बाल उद्यान र पिङहरूमा बालबालिका तथा युवाहरूको विशेष आकर्षण देखिएको छ ।
भोलिको विशेष आकर्षण : प्रकाश सपुत
तुलसीपुर महोत्सवमा भोलि चर्चित गायक प्रकाश सपुत आउँदै हुनुहुन्छ । गायक सपुत आउने महोत्सवको रौनकता भोलि अझै चुलिने देखिएको छ । शुक्रबारको विशेष आकर्षणका रूपमा नेपालका बहुचर्चित गायक, मोडल तथा सर्जक प्रकाश सपुतको प्रस्तुति रहने महोत्सव मूल आयोजक समितिका सदस्य सचिव भद्र बहादुर वलीले बताउनुभयो ।
मौलिक र सन्देशमूलक गीतका कारण लोकप्रिय रहेका सपुतको प्रस्तुति हेर्न भोलि पनि दर्शकको उल्लेख्य उपस्थिति रहने अनुमान गरिएको छ ।
