मनकापुर–कुहिरेपानी जलाशयमा डुङ्गा सञ्चालन शुभारम्भ हुँदै
दाङ, असोज २९ — तुलसीपुर उपमहानगरपालिका–२ अन्तर्गत भ्युडहर सुनपुर सामुदायिक वन र कुहिरोपानी मनकापुरको बीच भागमा रहेको मनकापुर–कुहिरेपानी जलाशय (ड्याम) मा अब डुङ्गा सञ्चालन सुरु हुने भएको छ।
आगामी असोज २९ गते बिहान ११ बजे, शुभ दीपावली र छठ पर्वको अवसर पारेर उक्त ड्याममा डुङ्गा सञ्चालनको औपचारिक उद्घाटन गरिँदैछ।
उद्घाटन कार्यक्रमको तयारी र सम्पूर्ण व्यवस्थापनको अवलोकन कार्य अहिले तीव्र गतिमा भइरहेको छ। यस क्रममा ड्यामको दीर्घकालीन संरक्षण, व्यवस्थापन तथा आगन्तुक पर्यटकलाई सहज सुविधा पुर्याउने उद्देश्यले विभिन्न पूर्वाधार निर्माणका योजना अघि सारिएको छ।
स्थानीयस्तरमा यो क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्य लिइएको कार्यसमिति अध्यक्ष भीमबहादुर ओलीले जानकारी दिनुभयो।
उक्त तयारी तथा अवलोकन कार्यक्रममा तुलसीपुर–२ का वडा अध्यक्ष भीमबहादुर योगी, वडा सदस्य गोवर्धन दाहाल, वडा सचिव सन्तोष न्यौपाने लगायत ड्याम निर्माण समिति र कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको छ।
समितिमा अध्यक्ष भीमबहादुर ओली, सचिव तिलक डाँगी, सदस्यहरूमा अम्बिका योगी, राजकुमार केसी, ढुण्डिराज न्यौपाने, गौरा भण्डारी, पूर्णबहादुर भण्डारी, चनकलाल, अशोक योगी, खिमा डाँगी र बाटुली चौधरी रहेका छन्।
कार्यसमिति अध्यक्ष ओलीका अनुसार दाङ जिल्ला तथा आसपासका वडामा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई असोज २९ गते बिहान ११ बजे हुने डुङ्गा सञ्चालन उद्घाटन कार्यक्रममा उपस्थित भई अवलोकन गर्न हार्दिक आमन्त्रण गरिएको छ।