Sun. Feb 1st, 2026

हजारौँ दर्शकमाझ ज्योति मगर र कमल बिसीको धमाका
दाङ, १६ पुस
तुलसीपुरमा जारी ’प्रथम तुलसीपुर महोत्सव’ को आज १३ औँ दिन पनि चर्चित कलाकारहरूको प्रस्तुतिले मेलास्थल गुञ्जायमान बनेको छ । महोत्सवको विशेष आकर्षणको रूपमा रहेका चर्चित लोक दोहोरी गायिका ज्योति मगर र गायक कमल बिसी ‘माल्दाई’को बेजोड सांगीतिक प्रस्तुतिमा दर्शकहरू झुमेका हुन् ।

आफ्नो विशिष्ट गायकी र स्टेज प्रस्तुतिको लागि परिचित गायिका ज्योति मगरले आफ्ना चर्चित गीतहरू गाउँदा दर्शकहरूले हुटिङ र नृत्यमा साथ दिएका थिए ।

त्यस्तै, गायक कमल बिसीले पनि आफ्ना लोकप्रिय सिर्जनाहरूमार्फत दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्नुभयो । जाडोको प्रवाह नगरी हजारौँको संख्यामा उपस्थित दर्शकहरूले कलाकारहरूसँगै गाएर र नाचेर महोत्सवको माहोललाई थप उत्सवमय बनाएका थिए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा प्रथम तुलसीपुर महोत्सव संचालन भइरहेको छ । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको दैनिक प्रस्तुतिसँगै व्यापारिक स्टलहरू र बाल उद्यानमा समेत अवलोकनकर्ताहरूको आकर्षण बढ्दै गएको छ ।

१३ औँ दिनसम्म आइपुग्दा महोत्सवमा दर्शकको उपस्थिति अत्याधिक भइरहेको महोत्सव मूल आयोजक समितिका संयोजक लाल बहादुर केसीले बताउनुभयो । दर्शकको उत्साहजनक सहभागीताले आर्थिक कारोबार पनि बढेको छ ।

महोत्सवमा भोलि चर्चित नायक पल शाह आउने सांस्कृतिक संयोजक टिकाजंग वलीले जानकारी दिनुभयो । महोत्सवको १४ औँ दिन भोलि नायक पल शाहसंगै गायिका सम्झना भण्डारी, गायक प्रकाश रेग्मी, टंक खड्का लगायतको प्रस्तुति रहने छ ।

भोलि पनि दर्शकको सहभागीता उल्लेख्य हुने अनुमान गरिएको महोत्सव मूल आयोजक समितिका सदस्य सचिव भद्र बहादुर वलीले बताउनुभयो । उहाँले दर्शकको उत्साहजनक सहभागीताले आयोजकलाई थप हौसला मिलेको बताउनुभयो । नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा पुस ४ गतेदेखि संचालन भइरहेको महोत्सव १९ गतेसम्म संचालन हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटेका समाचार