राप्ती विद्यामन्दिरमा अभिभावक भेला तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न
दाङ, माघ २० कृष्ण अधिकारी
राप्ती विद्यामन्दिर माध्यमिक विद्यालय, तुलसीपुर उपमहानगरपालिका वडा नं. ६, दाङले आज एक कार्यक्रमका बीच अभिभावक भेला तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि तुलसीपुर नगर प्याब्सनका अध्यक्ष डम्बर डाङ्गीले विद्यालयको शैक्षिक योगदानको प्रशंसा गर्दै निजी विद्यालयहरूले दक्ष, अनुशासित तथा सक्षम जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो।
उहाँले राप्ती विद्यामन्दिर दाङ जिल्लामै उदाहरणीय शैक्षिक संस्थाको रूपमा स्थापित हुँदै गएको उल्लेख गर्दै विद्यालय, अभिभावक र विद्यार्थीबीचको सहकार्यबाट मात्रै उज्ज्वल भविष्य निर्माण हुने धारणा राख्नुभयो।
विशिष्ट अतिथि राप्ती प्रादेशिक अस्पतालका सञ्चालक समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेले शिक्षा नै राष्ट्र विकासको मेरुदण्ड भएको उल्लेख गर्दै बालबालिकामा अनुशासन, नैतिकता र व्यवहारिक शिक्षाको आवश्यकता औँल्याउनुभयो।
उहाँले विद्यालयले पठनपाठनसँगै संस्कार, संस्कृति र नैतिक शिक्षामा दिएको जोड अत्यन्तै सराहनीय रहेको बताउनुभयो।
त्यस्तै विशिष्ट अतिथि तुलसीपुर वडा नं. ६ की वडा सदस्य देवी पोख्रेलले स्थानीय तह सधैँ शिक्षाको गुणस्तर अभिवृद्धिमा विद्यालयसँग सहकार्य गर्न तयार रहेको बताउँदै समुदायसँग जोडिएर गरिएको राप्ती विद्यामन्दिरको शैक्षिक यात्रा प्रेरणादायी रहेको उल्लेख गर्नुभयो।
कार्यक्रमको सभापतित्व गुठी सदस्य उषा डाँगीले गर्नुभएको थियो।
उहाँले विद्यालयको निरन्तर प्रगतिमा शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थीहरूको संयुक्त प्रयास रहेको बताउँदै आगामी दिनमा अझ गुणस्तरीय तथा व्यवहारिक शिक्षामा जोड दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
विद्यालयका प्रधानाध्यापक हेमसागर सुवेदीले स्वागत मन्तव्यका क्रममा विद्यालयको शैक्षिक उपलब्धि, भौतिक तथा शैक्षिक पूर्वाधार, अतिरिक्त क्रियाकलाप तथा आगामी योजनाबारे जानकारी गराउनुभयो। उहाँले यस विद्यालयबाट अध्ययन पूरा गरेका विद्यार्थीहरू आज डाक्टर, इन्जिनियर, पाइलटलगायत विभिन्न पेशामा सफलतापूर्वक स्थापित भई समाजमा योगदान दिइरहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा पूर्व विद्यार्थी तथा पूर्व शिक्षक एवं हाल अभिभावकसमेत रहनुभएका हरि बस्नेतले मन्तव्य व्यक्त गर्दै राप्ती विद्यामन्दिरले आफ्नो जीवन निर्माणमा खेलेको भूमिकाको स्मरण गर्नुभयो। उहाँले विद्यालयले शैक्षिक ज्ञानसँगै अनुशासन, संस्कार र जिम्मेवारीबोध सिकाएको उल्लेख गर्दै आज आफ्नै सन्तानलाई यही विद्यालयमा अध्ययन गराउन पाउँदा गर्व महसुस भएको बताउनुभयो।
उहाँले विद्यालयको निरन्तर प्रगति र गुणस्तरीय शिक्षाको यात्रामा अभिभावकको सक्रिय भूमिका अपरिहार्य रहेको धारणा राख्नुभयो।
कार्यक्रममा अतिथि मन्तव्य व्यक्त गर्दै मानबहादुर केसीले विद्यालयले समाजलाई सक्षम र जिम्मेवार नागरिक उत्पादन गर्दै आएको बताउनुभयो भने पत्रकार वसन्त राणाले यस्ता शैक्षिक तथा सामाजिक गतिविधिले शिक्षा क्षेत्रको स्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो।
कार्यक्रमका अवसरमा उत्कृष्ट कार्य सम्पादन गर्ने शिक्षिकाहरू अनिता डाँगी, होता भण्डारी/केसी, उषा डाँगी, सवारी सहचालक सूर्यलाल कवर तथा विभिन्न अभिभावकहरूलाई सम्मान गरिएको थियो।
कार्यक्रमलाई थप आकर्षक बनाउन विद्यालय परिवारतर्फबाट प्रस्तुत गरिएको दमदार नृत्यले दर्शकको मन जितेको थियो।
विद्यालयका लेखापाल लीलाराज न्यौपाने, शिक्षिकाहरू अनिता डाँगी, दिलमाया केसी, सीता चौधरी र पार्वती मिजारको सहभागितामा नृत्य प्रस्तुत गरिएको थियो।
साथै नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूले सांस्कृतिक पोशाकसहित नृत्य, गायन तथा नाटक प्रस्तुत गरेका थिए।
कार्यक्रमका क्रममा माघ १३ गतेदेखि १५ गतेसम्म सञ्चालन भएका विभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरणसमेत गरिएको थियो।
दाङ जिल्लाकै पहिलो विद्यालयको रूपमा परिचित राप्ती विद्यामन्दिर माध्यमिक विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको भन्दै कार्यक्रममा सहभागी अभिभावकहरूले प्रशंसा व्यक्त गरेका थिए। विद्यालय प्रशासनले आफ्ना नानीबाबुहरूको उज्ज्वल भविष्यका लागि राप्ती विद्यामन्दिर माध्यमिक विद्यालयमा भर्ना गराउन अभिभावकहरूलाई आग्रहसमेत गरेको छ।
कार्यक्रमको समग्र व्यवस्थापन विद्यालयका लेखापाल लीलाराज न्यौपाने तथा प्रधानाध्यापक हेमसागर सुवेदीको नेतृत्वमा सम्पन्न भएको थियो भने कार्यक्रमको सहजीकरण सहायक प्रधानाध्यापक चूर्णबहादुर केसीले गर्नुभएको थियो।

