
तुलसीपुर, दाङ ।
सप्तरंगी इङ्ग्लिस मिडियम स्कूल ( सक्सेस )तुलसीपुर–९, बेलुवा, दाङको आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ । उक्त शिविरबाट करिब १००० जना विद्यार्थी, अभिभावक तथा स्थानीयवासी लाभान्वित भएका छन् । कार्यक्रममा दन्त, आँखा तथा सामान्य स्वास्थ्य जाँच सेवा प्रदान गरिएको थियो ।
कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ललित जंग शाहले गर्नुभएको थियो । स्वागत मन्तव्य विद्यालयका उप–प्रधानाध्यापक गोपाल गिरीले व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक नन्दु खरालले गर्नुभएको थियो ।
शिविरमा डा. बी.पी. भुसालले विद्यार्थीहरूलाई मुख तथा दन्त स्वास्थ्यसम्बन्धी सचेतनामूलक जानकारी प्रदान गर्नुभएको थियो ।
विद्यालयका प्रधानाध्यापक प्रदीप ओलीका अनुसार यस्ता कार्यक्रमहरूले स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्नुका साथै रोगहरूको प्रारम्भिक पहिचान गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमलाई सिटी हस्पिटल तुलसीपुर, बीआर डेन्टल तुलसीपुर तथा राप्ती आँखा अस्पतालले प्राविधिक सहयोग प्रदान गरेका थिए । विद्यालय प्रशासनले सहयोगी संस्थाहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ ।
स्वास्थ्य नै जीवनको आधार भएकाले आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा जनचेतनामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने विद्यालयले जनाएको छ ।
