Fri. Jun 5th, 2026

विश्व वातावरण दिवसको अवसरमा सक्सेस एकेडेमीद्वारा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न

तुलसीपुर, जेठ २२ (जुन ५) – विश्व वातावरण दिवसको अवसर पारेर तुलसीपुर उपमहानगरपालिका–९, बेलुवास्थित सक्सेस एकेडेमी ले भद्रकाली टोल विकास संस्थाको समन्वयमा भव्य वृक्षारोपण तहा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ। वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा स्थानीय समाजसेवी, टोल विकास संस्थाका पदाधिकारी, विद्यालय परिवार तथा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रमको सभापतित्व विद्यालयका प्रधानाध्यापक प्रदीप ओली ले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा भद्रकाली टोल विकास संस्थाका सचिव नारायण प्रसाद के.सी. को गरिमामय उपस्थिति रहेको थियो। त्यसैगरी विद्यालयका सह–प्रधानाध्यापक गोपाल गिरी तथा मा वि संयोजक बिमल नेपाल अतिथिका रूपमा कार्यक्रममा सहभागी हुनुभएको थियो भने कार्यक्रमको समायोजन नेत्रमनी पाण्डेले गर्नु भएको थियो | विद्यालयको सक्सेस इको क्लब का सदस्यहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई अझ प्रभावकारी र प्रेरणादायी बनाएको थियो।

कार्यक्रममा बोल्दै सह–प्रधानाध्यापक गोपाल गिरी ले विश्व वातावरण दिवसको महत्वमाथि प्रकाश पार्दै वातावरण संरक्षण आजको आवश्यकता मात्र नभई भावी पुस्ताप्रतिको जिम्मेवारी भएको बताउनुभयो। उहाँले विद्यार्थीहरूलाई प्रकृतिप्रति प्रेम, संरक्षण र जिम्मेवारीको भावना विकास गर्न आग्रह गर्नुभयो।

त्यसैगरी प्रमुख अतिथि नारायण प्रसाद के.सी. ले आफ्नो मन्तव्यका क्रममा सक्सेस एकेडेमीले वातावरण संरक्षणका क्षेत्रमा उदाहरणीय कार्य गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले यस्ता कार्यक्रमले विद्यार्थीमा सकारात्मक सोच, सामाजिक उत्तरदायित्व र वातावरणीय चेतना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रम अन्तर्गत विद्यालय परिसर तथा आसपासका क्षेत्रमा सरसफाई तथा विभिन्न प्रजातिका बिरुवाहरू रोपिएका थिए। सहभागीहरूले “आज रोपिएको एउटा बिरुवाले भोलिको स्वच्छ वातावरण निर्माण गर्छ” भन्ने सन्देशलाई आत्मसात गर्दै वृक्षारोपणमा उत्साहपूर्वक सहभागिता जनाएका थिए।

कार्यक्रमको अन्त्यमा सभापति तथा विद्यालयका प्रधानाध्यापक प्रदीप ओली ले वातावरण संरक्षणमा सबैको साझा दायित्व रहेको उल्लेख गर्दै वृक्षारोपणलाई केवल एक दिनको कार्यक्रमका रूपमा नभई जीवनशैलीकै हिस्सा बनाउनुपर्ने धारणा राख्नुभयो। उहाँले कार्यक्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्तित्वहरूप्रति धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभएको थियो।

विश्व वातावरण दिवसको अवसरमा सम्पन्न यस वृक्षारोपण तथा सरसफाई कार्यक्रमले वातावरण संरक्षणको सन्देश प्रवाह गर्नुका साथै विद्यालय र समुदायबीचको सहकार्यलाई थप सुदृढ बनाएको सहभागीहरूले बताएका छन्। 🌱🌍💚

Leave a Reply

Your email address will not be published. Required fields are marked *