तुलसीपुरमा ‘इन्टर स्कुल फुटसल टुर्नामेन्ट–२०८३’ सुरु

Bydipak oli

२०८३ भाद्र २१, आईतवार १५:०१ गते २०८३ भाद्र २१, आईतवार १५:०१ गते २०८३ भाद्र २१, आईतवार १५:०१ गते

तुलसीपुरमा ‘इन्टर स्कुल फुटसल टुर्नामेन्ट–२०८३’ सुरु

तुलसीपुर -२१ दाङ । स्थानीयस्तरमा खेलकुदको विकासमा सहयोग पुर्‍याउने तथा विद्यार्थीमाझ फुटसल खेलप्रति आकर्षण बढाउने उद्देश्यले तुलसीपुरमा ‘इन्टर स्कुल फुटसल टुर्नामेन्ट–२०८३’ सुरु भएको छ।

कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी सक्सेस फुटबल क्लबको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो। प्रतियोगितामा विभिन्न विद्यालयका २६ वटा टिमको सहभागिता रहेको आयोजकले जनाएको छ। प्रतियोगिता भदौ २१ र २२ गते सञ्चालन हुने छ।

प्रतियोगिताको उद्घाटन समारोहमा एन–प्याब्सनका वरिष्ठ उपाध्यक्ष ठाकुर डाँगी प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि डाँगीले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि शिक्षासँगै खेलकुद पनि उत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले खेलकुदले विद्यार्थीमा अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता, सहकार्य र प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने उल्लेख गर्दै विद्यालयस्तरबाटै खेलाडीको प्रतिभा पहिचान गरी उचित अवसर र प्रोत्साहन दिनुपर्नेमा जोड दिनुभयो।

डाँगीले स्थानीयस्तरमा यस्ता प्रतियोगिताको आयोजना हुनु सकारात्मक पक्ष भएको उल्लेख गर्दै फुटसललगायत खेलकुदका गतिविधिलाई निरन्तरता दिन आयोजक तथा विद्यालयहरूलाई आग्रह गर्नुभयो। उहाँले प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थीलाई खेलभावनाका साथ उत्कृष्ट प्रदर्शन गर्न शुभकामनासमेत दिनुभएको थियो ।

विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि र प्रतिस्पर्धात्मक भावना विकास गर्नुका साथै स्थानीयस्तरबाटै प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेता टिमले नगद रु. ३० हजार तथा उपविजेता टिमले नगद रु. १५ हजार पुरस्कार प्राप्त गर्नेछन्। त्यसैगरी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रोत्साहन गर्न उत्कृष्ट खेलाडी, राइजिङ प्लेयर, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकलाई समेत नगद पुरस्कार प्रदान गरिने कुरा आयोजक टिमले जनायको छ।

सक्सेस फुटबल क्लबका अध्यक्ष सुरज वलीका अनुसार प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रतिको आकर्षण बढाउनुका साथै विद्यालयस्तरमा लुकेर रहेका फुटसल प्रतिभाको पहिचान र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

विद्यालय तहबाटै खेलाडीको क्षमता पहिचान गरी उनीहरूलाई थप अवसर र प्रशिक्षण उपलब्ध गराउने उद्देश्यले प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिने आयोजकको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *