Mon. Jan 12th, 2026

पशुपति शर्माको प्रस्तुतिले ततायो तुलसीपुरको महोत्सव
दाङ, ८ पुस ।
दाङको तुलसीपुरमा सञ्चालन भइरहेको ‘प्रथम तुलसीपुर महोत्सव’ को पाँचौँ दिन आजको माहौल निकै उल्लासमय बनेको छ । पुसको कठ्याङ्ग्रिदो जाडोलाई समेत चुनौती दिँदै आज महोत्सवको मञ्चमा चर्चित लोक गायक पशुपति शर्माले आफ्नो धमाकेदार प्रस्तुति मार्फत दर्शकहरूलाई निकै छमछमती नचाएका छन् ।

महोत्सव स्थलमा उपस्थित हजारौँको संख्यामा रहेका दर्शकहरू शर्माका मौलिक गीतहरूको भाकामा झुम्दा पूरा तुलसीपुर क्षेत्र नै गुञ्जायमान देखिएको थियो ।

आफ्नो मौलिक ठेट शैली र हाउभाउका लागि नेपाली लोक संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाउनुभएका शर्माले मञ्चमा खुट्टा टेक्ने बित्तिकै दर्शकहरूको ताली, सिट्टी र हुटिङले महोत्सवको माहोल एकाएक तातिएको थियो ।

उहाँले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्ने क्रममा दर्शकहरूलाई मनोरञ्जनको मात्र बनाउनुभएन । समाजमा विद्यमान विभिन्न विसंगति र विकृतिहरूमाथि पनि आफ्नो व्यङ्ग्यात्मक शैली पनि प्रस्तुत गर्नुभयो ।

‘क्यार्न माया मारिछौ सानुले’, ‘स्याङ्जा जाने बाटैमा तनहुँ’ र ‘मलाई चिन्ता छैन केही’ जस्ता गीतहरू गाउँदा महोत्सव स्थलमा दर्शकहरू उत्साहका साथ छमछमती नाचेका थिए ।

महोत्सवमा गायक शर्माको जादुमय स्वर र आकर्षक स्टेज प्रस्तुतिले हरेक उमेर समूहका व्यक्तिहरूलाई आकर्षित गरेको थियो । स–साना स्कुले बालबालिकादेखि लिएर लौरीको सहारामा महोत्सव अवलोकन गर्न आएका वृद्धवृद्धाहरू समेत उमेरको ख्याल नगरी शर्माको गीतमा कम्मर मर्काई मर्काई नाचेको दृश्य निकै लोभलाग्दो र रोचक देखिन्थ्यो । महोत्सवमा मंगलबार गायक पिताम्बर रिजाल, गायिका शान्ता वली लगायतको प्रस्तुति रहेको थियो ।

स्थानीय व्यापार, कला, संस्कृति र उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित प्रथम तुलसीपुर महोत्सवमा दैनिकजसो दर्शकको उपस्थिति बढ्दै गएको महोत्सव मूल आयोजक समितिका संयोजक लाल बहादुर केसीले बताउनुभयो । उहाँका अनुसार दर्शक बढ्दै गएपछि दैनिकजसो स्थानीय वस्तुको बजारीकरण पनि उत्साहजनक भएको छ । उत्साहजनक माहोलले महोत्सवको आगामी दिनहरू अझै सफल हुने उहाँले बताउनुभयो ।

महोत्सवमा मंगलबार स्टलहरुमा विभिन्न सामान खरिद गर्नेहरुको भिडभाड निकै देखिएको महोत्सव मूल आयोजक समितिका सदस्य सचिव भद्र बहादुर वलीले बताउनुभयो । महोत्सवमा दर्शकको उत्साहजनक सहभागीताले व्यापार व्यवसायको समेत प्रवद्र्धन भइरहेको उहाँले बताउनुभयो । नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा संचालित महोत्सव १९ गतेसम्म संचालन हुने छ ।

महोत्सवमा भोलि समिक्षा अधिकारी
तुलसीपुरमा जारी महोत्सवमा भोलि चर्चित गायिका समिक्षा अधिकारी आउनुहुने भएको छ । महोत्सवमा अधिकारी आउने भएपछि भोलि झनै दर्शकको उपस्थिति बढ्ने आयोजकले जनाएको छ । महोत्सवमा भोलि गायक सन्दीप सेन्चुरी, दिपक वली, गायिका देवकुमारी खत्रीको पनि प्रस्तुति रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *