फ्लाई दूबईको उडान नं. एफजेड–५७३ मार्फत शनिबार राति ११ः४० बजे काठमाडौं उत्रिएका इजिप्टका नागरिक सरिफ मोहम्मद लासिमले अध्यागमन र भन्सार जाँच सहजै पार गरे ।
ज्याकेटभित्र साढे ६ किलो सुनका बिस्कुट आकारको प्याकेट बोकेका उनी विमानस्थलको ‘वाक थ्रु’ छिर्दा त्यसले कुनै संकेत दिएन ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्द भन्छन्, ‘उनी पार हुन लागिसकेका थिए ।’ तर त्रिभुवन विमानस्थल सुरक्षामा खटिएका प्रहरीका अधिकृतहरुलाई उनको लुगा लगाइ र हिँडाइ शंकास्पद लाग्यो । उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरे ।अधिकृतहरुका अनुसार, सामान्य सोधपुछमै मोहमद अलमलिए जस्तो देखिए । भाषा पनि बुझ्न सकिने खालको थिएन । प्रहरीका अनुसार, खनतलासी लिँदा ज्याकेटमा केही भएजस्तो देखियो । ‘खोलेर हेर्दा त्यहाँ अर्ध ठोस प्रकृतिका सुनका डल्ला थिए’, डीआईजी चन्दले भने ।यसरी सुन बोकेर विमानस्थलको सुरक्षा जाँच पार गरेर व्यक्ति बाहिरिएको यो पटक होइन । ८ पुस २०७९ मा सुडानी नागरिक २७ वर्षीय मोहमद अहमद डाफल्ला सराफिल्दनले तस्करी गर्न खोजेको १९ किलो सुन पनि ‘वाक थ्रु’ गेटमा डिटेक्ट भएको थिएन ।त्यसबेला भन्सार जाँचमा खटिएका एक कर्मचारीका अनुसार फ्लाई दूबईबाट आएका उनी ‘वाक थ्रु’ गेटमा अल्मलिए । गेट नजिकै रोकिइरहेपछि भन्सारका कर्मचारीहरुले उनलाई अगाडि बोलाए, डाफल्ला अझै गेटतिर आएनन् ।बरु लाइनमा पछाडि भएका अरुलाई अगाडि जान भने । ‘त्यसपछि भाषा नबुझेर नआएको हो कि भन्ने भयो, इसारा गरेर बोलायौं र बाट थ्रुबाट हिडायौं’ भन्सार जाँचमा खटिएका ती कर्मचारी भन्छन्, ‘वाक थ्रुबाट हिँडाउँदा बजेन । तर जाँच गर्दा शरीरमा १० वटा सुन जस्तो देखिने वस्तु भेटियो ।’