जाजरकोट सदरमुकाम खलङ्गास्थित कस्तुरी सहकारी स्कुलको चौरमा २० वर्षीया विमला तिरुवा चार दिनको बच्चा लिएर बसेकी छन् । प्रोटिनयुक्त खानेकुरा र विशेष स्याहारसुसार चाहिने बेला उनले दुई दिनदेखि खाना खाएकी छैनन् ।
चौरमा राखिएको टेन्टबाट निस्किएर बाहिर आएकी उनी मंगलबार अपराह्न श्रीमान् रुपेश तिरुवाले ल्याइदिएको समोसा खाँदै थिइन् । ‘खाना किनेर खानलाई होटल खुलेको थिएन, यहाँ पकाउनलाई सामान छैन’, विमलाले अनलाइनखबरसँग भनिन्, ‘ज्यान अहिलेसम्म जोगिएकै छ भनेर चित्त बुझाउने त होला !’
सत्केरी विमलाले तातो पानी समेत खान पाएकी छैनन् । शुक्रबार ६.४ रेक्टर स्केलको भूकम्प गएपछि सदरमुकाम खलङ्गामा अहिले पानीको समस्या छ । ‘नर्मल पानी त छैन, तातो झन् कहाँबाट ल्याउनु ?’, उनले प्रश्न गर्दै भनिन्, ‘धन्न उहाँ (श्रीमान्) ले बोतलको पानी चाहिँ कताबाट ल्याउनु भएको छ ।’