
१० जेठ २०८२
विशाल परियार
ग्लोवल एकेडेमीमा विद्यार्थी नेतृत्व चयनका लागि मतदान सम्पन्न :
दाङ, घोराही उपमहानगरपालिका–७ मा अवस्थित ग्लोवल एकेडेमीमा शुक्रबार सम्पन्न विद्यार्थी नेतृत्व निर्वाचनले नयाँ नेतृत्व चयन गरेको छ। विद्यालयको आन्तरिक लोकतान्त्रिक अभ्यासलाई सबल बनाउने उद्देश्यका सहित आयोजित निर्वाचनमा कुल १२४ मत खस्दा १२३ मत सदर र १ मत रद्द भएको थियो।
निर्वाचन प्रक्रियामा सहभागिता जनाउँदै विद्यार्थीहरूले उत्साहपूर्वक मतदान गरेका थिए। कक्षा ९ मा अध्ययनरत अायुस खड्काले कुल ७३ मत प्राप्त गर्दै विद्यालयको नयाँ विद्यार्थी कप्तानमा निर्वाचित भएका छन्। प्रतिस्पर्धी उम्मेदवारहरूलाई पछाडि पार्दै उनले बहुमत प्राप्त गरेका हुन्।
त्यसैगरी, उपकप्तान पदमा अायुस जि.एम विजयी भएका छन्। उनले ५९ मत प्राप्त गर्दै नजिकका प्रतिस्पर्धीलाई पछि पार्दै आफ्नो जित सुनिश्चित गरेका हुन्। विद्यार्थीहरूका बीचमा लोकप्रियता र नेतृत्व क्षमता भएका अायुस जि.एम यसअघिसमेत विभिन्न अतिरिक्त कृयाकलापहरूमा सक्रिय रूपमा संलग्न रहँदै आएका थिए।
निर्वाचन अधिकृत तथा विद्यालयकी अतिरिक्त कृयाकलाप संयोजक एन्जिला कुँवरका अनुसार निर्वाचन निष्पक्ष, स्वतन्त्र र पारदर्शी वातावरणमा सम्पन्न भएको हो। “बालबालिकाकाे लोकतान्त्रिक चेतना विकास गर्ने र नेतृत्व क्षमताको प्रवर्द्धन गर्ने उदेश्यका साथ विद्यालयले हरेक वर्ष निर्वाचनको अभ्यास गर्दै आएको छ। विद्यालय परिवार, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूले नवनिर्वाचित कप्तान र उपकप्तानलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा जिम्मेवार र अनुकरणीय भूमिका निर्वाह गर्ने अपेक्षा गरेका छन्। ग्लोवल एकेडेमीले शिक्षा मात्र नभई विद्यार्थीको सर्वांगीण विकासमा जोड दिँदै आएको छ, जसका लागि यस्तो लोकतान्त्रिक अभ्यास प्रेरणादायी बनेको विद्यालयका सहाय प्रधानाध्यापक श्रीकृष्ण शुवेदिले बताउनुभयो ।
