विद्यालय खुल्दा आफ्नो कक्षा देखेर दङ्ग

तुलसीपुर, दाङ।

लामो बिदापछि विद्यालय खुलेर कक्षाकोठामा प्रवेश गर्दा कक्षा ८ विद्यार्थीहरूले आफूले पढ्ने कोठाको नयाँ र आकर्षक स्वरूप देखेपछि खुसीले दङ्ग परे। पहिलेको सामान्य कक्षाकोठा शैक्षिक चित्र, रंगीन भित्तेचित्र र विषयवस्तुसँग सम्बन्धित चित्रहरूले सजिएपछि विद्यार्थीहरूका लागि विद्यालयको वातावरण नै नयाँ र रोचक बनेको छ।

तुलसीपुर उपमहानगरपालिका–१, छोटेदाङस्थित श्री सृजनशील आधारभूत विद्यालयमा विद्यार्थीको सिकाइलाई रोचक, व्यावहारिक र प्रभावकारी बनाउने उद्देश्यले कक्षाकोठाका भित्ताहरूलाई शैक्षिक सामग्रीका रूपमा विकास गरिएको छ।

विद्यालयका प्रधानाध्यापक सन्तोष परियारको सिर्जनात्मक सोच र कलाप्रतिको रुचिका कारण कक्षाकोठाका भित्तामा विभिन्न विषयसँग सम्बन्धित चित्रहरू निर्माण गरिएका छन्। विज्ञान विषयअन्तर्गत जनावर कोष र वनस्पति कोषका चित्रहरू, विभिन्न शैक्षिक सामग्री तथा रंगीन चित्रहरूले कक्षाकोठालाई आकर्षक बनाएका छन्।

यी चित्रहरू केवल कोठाको सजावटका लागि मात्र होइनन्, विद्यार्थीले हेरेर, छोएर, बुझेर र छलफल गरेर सिक्न सकून् भन्ने उद्देश्यले तयार गरिएका हुन्।

विद्यार्थीहरू पनि भित्तामा बनाइएका चित्रहरू देखाउँदै त्यसका विभिन्न भागबारे एकअर्कालाई जानकारी दिइरहेका देखिन्छन्। यसले कक्षाकोठामा सिकाइप्रतिको उत्सुकता र सहभागिता बढाउन सहयोग पुर्‍याएको छ।

शिक्षणलाई पाठ्यपुस्तक र परम्परागत व्याख्यामा मात्र सीमित नराखी गीत, संगीत, चित्रकला, अभिनय र दृश्य सामग्रीमार्फत बालबालिकालाई सिकाउने नवीन शैली अपनाउँदै आएका प्रधानाध्यापक परियारको यो प्रयासले विद्यालयको शैक्षिक वातावरणलाई थप सिर्जनात्मक बनाउने अपेक्षा गरिएको छ।

‘कक्षाकोठा आफैँमा एउटा सिकाइ केन्द्र हुनुपर्छ। विद्यार्थीले भित्तामा देखेका चित्रबाट पनि नयाँ कुरा सिक्न सकून् र विद्यालय आउँदा खुसी महसुस गरून् भन्ने हाम्रो चाहना हो।’

विद्यार्थीको अनुहारमा देखिएको खुसी र कक्षाकोठाप्रतिको आकर्षणले विद्यालयको वातावरणलाई बालमैत्री र सिकाइमैत्री बनाउन गरिएका साना सिर्जनात्मक प्रयासले पनि ठूलो प्रभाव पार्न सक्छन् भन्ने सन्देश दिएको छ।

विद्यालय खुल्दा विद्यार्थीले आफ्नो कक्षा देखेर व्यक्त गरेको खुसी नै यो सिर्जनात्मक प्रयासको सबैभन्दा सुन्दर उपलब्धि बनेको छ।
भित्तेचित्र बनाउनका लागि विद्यालयलाई निलकृश्न जसोदा शिटौला फाउन्डेसनले रङ्ग लगायतका सामाग्री किन्न रु २५०००(पच्चीस हजार) सहयोग गरेको थियो । समाजमा परोपकारी काम गर्दै आएको उक्त सस्थाले देशैभरीबाट विभिन्न प्रतिभावान ब्यक्तिहरुलाइ हरेक वर्ष सम्मान गर्दै आइरहेको छ । गतवर्ष मात्र यसै विद्यालयका प्रधानाध्यापक सन्तोष परियारलाई काठमाडौ मा नगत सहित सम्मान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *