Sun. May 3rd, 2026

नेकपा (माओवादी) दाङले भन्यो– ‘सुकुम्बासीमाथि डोजर आतंक बन्द गर’
दाङ — नेपाल कम्युनिस्ट पार्टी (माओवादी) दाङले सुकुम्बासी बस्तीमाथि सरकारले चलाइरहेको डोजर अभियानको कडा शब्दमा विरोध गरेको छ।
पार्टीको जिल्ला समितिद्वारा जारी वक्तव्यमा सरकारले न्यूनतम मानवीय मूल्य र अधिकारको समेत बेवास्ता गर्दै वैकल्पिक व्यवस्था बिना नै सुकुम्बासी बस्तीहरूमा घर भत्काउने कार्य गरिरहेको आरोप लगाएको छ।

वक्तव्यमा देशका विभिन्न स्थानमा सुकुम्बासी बस्तीहरूमा डोजर चलाउने क्रम तीव्र बनिरहेको र त्यसकै निरन्तरतामा दाङका बस्तीहरूलाई पनि निशाना बनाउने तयारी भइरहेको जनाइएको छ।
यसले सर्वसाधारण नागरिकमा त्रास सिर्जना गरेको र आफ्नो बसोबास जोगाउन बाध्य भएर संघर्षमा उत्रिनुपर्ने अवस्था आएको पार्टीले उल्लेख गरेको छ।

पार्टीले भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी तथा गरिब किसानहरूको जमिन र आवासको सुनिश्चितता नगरी कुनै पनि बहानामा जबर्जस्ती विस्थापन नगर्न सरकारलाई चेतावनी दिएको छ।
साथै, सुकुम्बासीहरूले लामो समयदेखि भोगचलन गर्दै आएको जग्गामा यथासिघ्र प्रमाणका आधारमा स्वामित्व प्रदान गर्नुपर्ने माग पनि राखिएको छ।

वक्तव्यमा स्थानीय सरकारको समेत ध्यानाकर्षण गराउँदै सुकुम्बासीहरूको पक्षमा उभिन आग्रह गरिएको छ। पार्टीले सुकुम्बासीहरूको न्यायपूर्ण आवाज र संघर्षमा आफ्नो पूर्ण समर्थन रहने स्पष्ट पारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *