शुक्रबार, भदौ १२, २०७७
चिनियाँ स्वामित्वमा रहेको लोकप्रिय भिडिओ एप ‘टिकटक’ किन्ने अन्तर्राष्ट्रिय प्रतिस्पर्धाले बिहीबार नयाँ मोड लिएको छ।
अमेरिकी बहुराष्ट्रिय रिटेल कम्पनी ‘वालमार्ट’ ले अर्को अमेरिकी सफ्टवेयर कम्पनी ‘माइक्रोसफ्ट’ सँग मिलेर टिकटक किन्न लागेको छ। यसका लागि दुवै पक्षबीच नेगोसिएसन चलिरहेको छ। नेगोसिएसनमा संलग्न अधिकारीहरूले केही दिनभित्रै टिकटकले अन्तिम निर्णय लिने बताएका छन्।
वालमार्टले यसबारे विज्ञप्ति जारी गर्दै भनेको छ, ‘वालमार्ट र माइक्रोसफ्टको साझेदारीले अमेरिकी टिकटक प्रयोगकर्ताहरूको अपेक्षा पूरा गर्नेछ। अमेरिकी नियमन निकायहरूलाई पनि हामी गुनासोको मौका दिने छैनौं।’
टिकटकले यसबारे प्रतिक्रिया दिन अस्वीकार गरेको छ भने माइक्रोसफ्टले पनि कुनै प्रतिक्रिया जनाएन। आर्थिक तथा वित्तीय समाचार प्रसारण गर्ने च्यानल ‘सिएनबिसी’ ले भने वालमार्ट यो नेगोसियनमा संलग्न रहेको समाचार प्रसारण गरेको थियो।