दियालोअनलाइन डट कम
तुलसीपुर, दाङ |
कृषि विकास बैंक लिमिटेड, तुलसीपुर शाखाको आयोजनामा तथा अजम्बरी कृषि सहकारी संस्था लिमिटेडको सहकार्यमा “कृषिको समावेशी रूपान्तरणका लागि मूल्य शृङ्खला (VITA) कार्यक्रम अन्तर्गत तरकारी उत्पादक किसान र व्यापारीबीच व्यवसाय विस्तार सम्बन्धी अन्तरक्रिया गोष्ठी” सम्पन्न भएको छ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाकी न्यायिक समिति सदस्य तथा महिला नेतृ लालमती भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यसैगरी रविन्द्र रिमाल र शारदा बिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रमको सभाध्यक्षता अजम्बरी कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष दीपक ओलीले गर्नुभएको थियो भने सहजीकरण जय खत्रीले गर्नुभएको थियो।
अन्तरक्रिया गोष्ठीमा तरकारी उत्पादनलाई व्यावसायिक तथा प्रतिस्पर्धी बनाउने, उत्पादक किसान र व्यापारीबीच प्रभावकारी समन्वय गर्ने, उत्पादनको बजारीकरण, मूल्य शृङ्खला विकास तथा कृषि उद्यम विस्तारका विषयमा विस्तृत छलफल गरिएको थियो। सहभागी किसान तथा व्यवसायीहरूले आफ्ना अनुभव, समस्या र सुझाव प्रस्तुत गर्दै उत्पादनदेखि बजारसम्मको पहुँचलाई थप प्रभावकारी बनाउने विषयमा जोड दिएका थिए।
प्रमुख अतिथि लालमती भण्डारीले कृषि क्षेत्रलाई आत्मनिर्भर र व्यावसायिक बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताउँदै स्थानीय किसानलाई उत्पादनसँगै बजार सुनिश्चित गर्न सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा सहभागीहरूले कृषि क्षेत्रको दिगो विकास, किसानको आयआर्जन वृद्धि तथा स्थानीय उत्पादनको प्रवर्द्धनका लागि यस्ता अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
– दियालोअनलाइन डट कम


