
जनउत्थान लघुवित्तद्वारा मृतक ऋणीको कर्जा मिनाह, परिवारलाई राहत
रुकुम ५ रिब्दीकोट
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले ऋणीको मृत्यु भएपछि मृतक परिवारलाई कर्जा मिनाह गरी राहत उपलब्ध गराएको छ।
रिब्दीकोट गाउँपालिका–५ बतासे निवासी ३३ वर्षीय स्व. रमेश सार्कीको गत साउन १८ गते असामयिक निधन भएपछि संस्थाले उनकी पत्नी माया सार्कीलाई गार्डियन माईक्रो लाइफ इन्सुरेन्समार्फत कर्जा बिमा दाबी रकम रु. २ लाख ५० हजार मिनाहसहित क्रिया खर्चका लागि अतिरिक्त रु. १५ हजार प्रदान गरेको हो।
स्व. सार्कीकी पत्नी माया सार्की लालीगुँरास बैंकिङ्ग समुदायमार्फत कर्जा परिचालन गरी व्यवसाय गर्दै आएकी थिइन्। ऋणीको निधनपछि संस्थाको इलाका संचालन कार्यालय कोलोनीका इलाका अधिकृत टोपबहादुर सुनारले मृतकको घरमै पुगेर श्रद्धाञ्जली अर्पण गर्दै बिमा दाबी रकम हस्तान्तरण गरेका थिए।
अधिकृत सुनारले संस्थाले आफ्ना ग्राहक सदस्यलाई कर्जा, बचत कारोबारसँगै व्यवसायिक सीप विकास, ग्राहक संरक्षण कोषमार्फत सुविधा उपलब्ध गराउने, सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्ने तथा भविष्यमा पर्न सक्ने जोखिम न्यूनीकरणका लागि कर्जा बिमाको व्यवस्था गरिएको बताए। उनका अनुसार, कर्जा लिएर व्यवसाय गर्ने क्रममा ऋणीको मृत्यु भएमा परिवारलाई ऋणको बोझ नहोस् र केही राहत मिलोस् भन्ने उद्देश्यले यस्तो सुविधा उपलब्ध गराइन्छ।
शाखा संचालन कार्यालय हार्थोकका शाखा प्रमुख दिनेश नेपालीको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्थानीयबासी, बैंकिङ्ग समुदायका सदस्य र कर्मचारीलगायत करिब १२ जना उपस्थित थिए।
