
तुलसीपुर आन्दोलनले पुर्यायो ठुलो क्षति, नगरप्रमुख खड्काको भावुक प्रतिक्रिया
तुलसीपुर उपमहानगरका प्रमुख टिकाराम खड्काले हालैको आन्दोलनले नगरका प्रशासनिक भवन, वडा कार्यालय, तुलसी टावर, अटो भिलेजदेखि निजी व्यवसाय र ऐतिहासिक दस्तावेजहरुसम्म ध्वस्त भएको भन्दै गहिरो दुःख प्रकट गरेका छन्।
उनका अनुसार, जनसेवाका लागि निर्माण भएका संरचना र आधुनिक सहरको पहिचान दिने योजना नष्ट भएपछि तुलसीपुर दशौँ वर्ष पछाडि धकेलिने खतरा बढेको छ। खोप, दमकल र कार्यालयका महत्वपूर्ण कागजातसमेत नष्ट हुनु, साथै व्यवसायी–कर्मचारी निराश हुनु ठूलो क्षति भएको उनको भनाइ छ।
जेन जी पुस्ताको सुशासन र अभिव्यक्ति स्वतन्त्रताप्रतिको आन्दोलनलाई समर्थन गर्दै पनि उनले विध्वंसले ल्याएको विनाशप्रति गम्भीर चिन्ता व्यक्त गरे। “जति खरानी भएपनि हामी फेरि उठ्छौँ, निराशालाई आशामा बदल्छौँ र धरोहरको पुनर्निर्माण गर्छौँ,” नगरप्रमुख खड्काले भावुक हुँदै भने।
आन्दोलनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेका उनले घाइतेहरुको स्वास्थ्य लाभको कामना गरे। साथै, आगामी पुनर्निर्माण यात्रामा सबैलाई सहकार्य र एकताको अपिलसमेत गरेका छन्।
