नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरले आगामी पुस ४ गतेदेखि १९ गतेसम्म आयोजना गर्न लागेको प्रथम तुलसीपुर महोत्सव२०८२ को तयारीलाई तीव्र बनाएको छ। तयारीका क्रममा महासंघले बसपार्क नजिकै रहेको तरकारी बजार (हाटबजार स्थल ) मा किसान(व्यापारी) तथा ग्राहकसँग प्रत्यक्ष सुझाव सङ्कलन कार्यक्रम सम्पन्न गरेको छ ।
सुझाव संकलनका क्रममा तरकारी बजारमा कारोबार गर्ने किसान तथा किनमेलका लागि आउने ग्राहकहरूले शौचालय, खानेपानी र बत्तीको अभाव प्रमुख समस्या रहेको बताएका छन । सार्वजनिक शौचालय नहुँदा व्यापारी तथा ग्राहकहरू पातुखोला किनारमा शौच गर्न बाध्य हुने गरेको उनीहरुको भनाइ छ । त्यस क्षेत्रमा फोहोर व्यवस्थापनसमेत कमजोर रहेको भन्दै प्रभावकारी कदम चाल्नुपर्ने सुझाव पनि उनीहरुले दिएका छन ।
घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लालबहादुर केसीले महोत्सवमार्फत स्थानीय व्यापारी र उत्पादनको प्रवर्द्धनसँगै हाटबजार क्षेत्रमा देखिएका पूर्वाधार समस्या समाधान गर्ने बताउनुभयो । महोत्सवको मुख्य उद्देश्य स्थानीय घरेलु तथा साना व्यवसायलाई प्रोत्साहन गर्नु र तरकारी हाटबजार क्षेत्रमा शौचालय, खानेपानी, सरसफाइ, पार्किङ लगायतका पूर्वाधार सुविधालाई व्यवस्थित बनाउनु रहेकोले महोत्सवलाई सफल बनाउन सबैको साथ आवश्यक रहेको अध्यक्ष केसीले बताउनुभयो
महोत्सवमा आकर्षक बाल उद्यान, रोटे पिङ आदि , स्थानीय जातजातिहरूको फुड फेस्टिवल , स्थानीय उत्पादनको प्रदर्शनी ।
औद्योगिक व्यापार, हस्तकला प्रदर्शनी , राष्ट्रिय लोक दोहोरी तथा लोकनृत्य प्रतियोगिता , जातीय पहिचान झल्काउने सांस्कृतिक नृत्य तथा झाँकी ,अटो मोवाइल्स, सूचना प्रविधिहरूको प्रदर्शनी ,लण्डन ब्रिज, जलपरी प्रदर्शनी ,
वित्तीय तथा अन्य सेवामूलक संघसंस्थाबारे जानकारी
,स्टार्टअप सम्मेलन हुने छन ।
महोत्सव तुलसीपुर-६ घोराही रोड, दाङ ॐ शान्ति सिनेमा हलको पूर्वतर्फ खुल्ला मैदानमा लाग्ने छ ।
