भालुबाङमा सहिद कृष्णसेन इच्छुकको शालिक पुनःस्थापना
भालुबाङ, २९ असोज।
दाङको राप्ती गाउँपालिका–१ भालुबाङमा महान सहिद कृष्णसेन इच्छुकको शालिक पुनःस्थापना गरिएको छ।
गत भदौ २३ र २४ गते जेन्जी आन्दोलनका क्रममा तोडफोड भएको उक्त शालिकलाई नेकपा (माओवादी केन्द्र) राप्ती गाउँपालिका कमिटीले बुधबार पुनःस्थापना गरेको हो।
पुनःस्थापना कार्यक्रम गाउँपालिका कमिटीका अध्यक्ष रणबहादुर पुजाली ‘राजेन्द्र’को अध्यक्षतामा तथा नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश कमिटी सदस्य चित्रबहादुर थापा मगर ‘सूर्यप्रकाश’को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
कार्यक्रमका प्रमुख अतिथि थापा मगरले सहिद कृष्णसेन इच्छुकले देश, जनता र परिवर्तनका लागि गरेको बलिदानको स्मरण गर्दै उहाँका आदर्श पछिल्ला पुस्ताका लागि मार्गदर्शक हुने बताउनुभयो। उहाँले जनताको अधिकारका लागि सहिदले बगाएको रगत खेर जान नदिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य तथा राप्ती गाउँपालिका सह–इन्चार्ज नारायणप्रसाद शर्माले शालिकमाथि गरिएको तोडफोड सहिदप्रतिको अपमान भएको बताउँदै त्यस्तो कार्य जेन्जीबाट हुन नसक्ने टिप्पणी गर्नुभयो।
त्यस्तै उहाँले नेकपा (माओवादी केन्द्र)ले वर्षौँदेखि उठाउँदै आएको शासकीय स्वरूप, सुशासन र भ्रष्टाचारविरुद्धको मुद्दा अहिले जेन्जीहरूले उठाएको उल्लेख गर्दै उनीहरूको मुद्दा र आफ्नो पार्टीको मुद्दा एउटै भएको बताउनुभयो।
उहाँले पार्टी र जनताको सम्बन्ध अझ सुदृढ बनाउन सहिदका आदर्शबाट प्रेरणा लिनुपर्नेमा पनि जोड दिनुभयो।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य भीमप्रकाश सी, राष्ट्रिय जनमोर्चा राप्ती गाउँपालिका कमिटीका कार्यवाहक अध्यक्ष बाबुराम थापा लगायतका वक्ताहरूले सहिदको योगदानको प्रशंसा गर्दै सहिदका सपना साकार पार्न सबै लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा पार्टीका विभिन्न कमिटीका पदाधिकारी, जनवर्गीय संगठनका प्रतिनिधि तथा स्थानीय बासिन्दाको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण गाउँ कमिटीका सचिव जगत थापाले गर्नुभएको थियो।
शालिक पुनःस्थापना पछि शालिकमा माल्यार्पण समेत गरिएको थियो।