
गहते-शिवपुर पुल निर्माणका लागि बोलपत्र आह्वान, तुलसीपुर उपमहानगरको ठूलो लगानी
०८, चैत दाङ | तुलसिपुर उपमहानगरपालिकाले नगरको विकट र रणनीतिक महत्त्वका क्षेत्रलाई जोड्ने अभियान अन्तर्गत एक ठूलो भौतिक पूर्वाधारको योजना अघि सारेको छ। वडा नं. ३ र ९ को सिमानामा पर्ने गहते खोला (शिवपुर) मा पक्की पुल निर्माणका लागि उपमहानगरले करिब डेढ करोड रुपैयाँ लागतको बोलपत्र आह्वान गरेको हो।
वर्षायाममा गहते खोलामा आउने बाढीका कारण बर्सौदेखि सास्ति खेप्दै आएका गहते शिवपुरबासिका लागि यो योजना ‘वरदान’ सावित हुने देखिएको छ। पुल निर्माणसँगै वडा नं. ३ र ९ बीचको सिधा यातायात सम्पर्क मात्र जोडिने छैन, यसले स्थानीय कृषि उत्पादनलाई बजारसम्म पुर्याउन समेत ठूलो मद्दत गर्नेछ।
डेढ करोडको लागत, यस्तो छ प्राविधिक तयारी
उपमहानगरपालिकाको कार्यालयले आइतबार जारी गरेको सूचना अनुसार, यस पुल निर्माणको कुल अनुमानित लागत १ करोड ५५ लाख ९ हजार २७७ रुपैयाँ २० पैसा (भ्याट र पीएस बाहेक) रहेको छ। “राष्ट्रिय प्रतिस्पर्धी बोलपत्र” (NCB) प्रक्रिया मार्फत योग्य नेपाली निर्माण व्यवसायीहरूलाई यस गौरवको योजनामा सहभागी हुन आह्वान गरिएको छ।
आवेदन र समयसीमा: कहिलेसम्म दिने निवेदन?
इच्छुक निर्माण कम्पनीहरूले सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO) को अनलाइन पोर्टल www.bolpatra.gov.np/egp मार्फत आगामी २०८२ चैत १८ गते (३१ मार्च २०२६) दिउँसो १२:०० बजेसम्म आफ्नो बोलपत्र पेश गर्न सक्नेछन्। दर्ता भएका बोलपत्रहरू सोही दिन दिउँसो २:०० बजे उपमहानगरपालिकाको कार्यालयमा खोलिनेछ।
मुख्य सर्त र धरौटीको व्यवस्था
बोलपत्र दस्तुर: रु. ३,०००/- (फिर्ता नहुने गरी)
बोलपत्र जमानत (धरौटी): न्यूनतम रु. ४,५०,०००/- (जसको मान्यता अवधि १२० दिन हुनुपर्नेछ)।
बैंक खाता विवरण: नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, तुलसीपुर शाखा (खाता नं. ०३१०१०४००२५००९२)।
तुलसीपुर उपमहानगरपालिकाले पछिल्लो समय ‘कनेक्टिभिटी’ लाई प्राथमिकता दिँदै आएको छ। यो पुल निर्माण सम्पन्न भएपछि यस क्षेत्रको आर्थिक र सामाजिक विकासमा नयाँ आयाम थपिने स्थानीयको अपेक्षा छ। विकासको यो पाइलाले शिवपुर र गहते क्षेत्रको मुहार फेर्ने विश्वास गरिएको छ।
