Mon. Apr 13th, 2026

सल्यानी चेलो सुजन पुनको “पानी कलल” लाइभ दोहोरी सार्वजनिक, झ्याउरे भाकामा माया प्रेमको रसिलो बगैँचा

सल्यानी लोक संगीत प्रेमीहरूका लागि एक सुमधुर उपहार स्वरूप गायक सुजन पुन र गायिका तिर्सना बुढा क्षेत्रीको स्वरमा सजिएको नयाँ लाइभ दोहोरी गीत “पानी कलल” हालै सार्वजनिक भएको छ । लोकलयमा आधारित झ्याउरे भाकामा रचिएको यस गीतले माया, ठट्यौली र गाउँको सरलतालाई कलात्मक रूपमा प्रस्तुत गरेको छ ।

गीतमा सुजन पुनकै शब्द र लय समावेश गरिएको छ । गीतको सुरुवातमै उच्चारण गरिने “पानी कलल, पानी जस्तै हाम्रो माया बगाउ सलल” भन्ने पंक्ति दर्सकलाई प्रेमको रसिलो धारामा बगाउन बाध्य बनाउँछ । मानौं मायाको उज्यालो बगैंचामा झरिरहेको झरनाको पानी जस्तै ताजा, चिटिक्क परेको अनि अविरल बगिरहेको भावना शब्द र स्वरमार्फत पोखिएको छ ।

यो पंक्तिले गाउँको हरियाली, प्रेमको सरलता र झ्याउरे भाकाको मिठासलाई सँगै जोडेर मायाको गहिराइ र चञ्चलतालाई एकैचोटि उजागर गरेको छ । दर्शक गीत सुनेपछि सम्झिन्छन्— त्यो बेलाको चोखो भावना जहाँ झुट थिएन, स्वार्थ थिएन, थियो त केवल प्रेम र आत्मीयता ।

सल्यान जिल्लाको कपुरकोट गाउँपालिका–६, सिनबाङ जलबाङमा जन्मिएका सुजन पुन सानैदेखि संगीतप्रेमी थिए । गाउँघरमा हुने पूजाआजा, विवाह तथा अन्य सांस्कृतिक कार्यक्रमहरूमा दोहोरी गाएर सबैको मन जित्दै आएका पुन हाल राजधानीमा बसेर दर्जनौं लाइभ दोहोरी गीतहरूमा स्वर दिइसकेका छन् । उनी गायक मात्र नभई प्रतिभाशाली गीतकार र संगीतकार पनि हुन् ।

“पानी कलल” लाइभ दोहोरी काल्पनिक केसीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतमा तिर्सना बुढा क्षेत्रीको आवाजले मेल गायनमा थप मिठास भरिदिएको छ । सरल लय, घतलाग्दो शब्द र चित्त बुझ्दो प्रस्तुति भएकाले यो गीतले छोटो समयमा नै दर्शक तथा श्रोतामाझ राम्रो स्थान बनाउने विश्वास गरिएको छ ।

लाइभ दोहोरी गित हेर्न र सुन्न तलको लिङ्क क्लिक गर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *