सक्सेस एकेडेमीद्वारा विद्यार्थी, शिक्षक तथा कर्मचारीका लागि दुर्घटना बीमा सुविधा लागू


दाङ, तुलसीपुर । सक्सेस एकेडेमी (सप्तरङ्गी इङ्ग्लिस मिडियम स्कूल), तुलसीपुर–९, बेलुवा ले आफ्ना विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको सुरक्षा तथा कल्याणलाई प्राथमिकतामा राख्दै दुर्घटना बीमा सुविधा लागू गरेको छ। विद्यालयले eSewa Insurance सँगको सहकार्यमा उक्त बीमा योजना सञ्चालनमा ल्याएको जनाएको छ।
विद्यालयमा अध्ययनरत विद्यार्थी तथा कार्यरत शिक्षक–कर्मचारीहरू विद्यालय आउँदा–जाँदा, खेलकुद गतिविधि, शैक्षिक भ्रमण तथा विभिन्न अतिरिक्त क्रियाकलापका क्रममा हुन सक्ने आकस्मिक दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै यो योजना लागू गरिएको हो।
योजना अन्तर्गत दुर्घटनाका कारण उपचार आवश्यक परेमा प्रतिव्यक्ति अधिकतम रु. १ लाखसम्म उपचार खर्च उपलब्ध गराइने व्यवस्था गरिएको छ। यो सुविधा सडक दुर्घटना, सवारी दुर्घटना, खेलकुदका क्रममा हुने दुर्घटना लगायत अन्य आकस्मिक दुर्घटनामा समेत लागू हुने विद्यालयले जनाएको छ।
बीमाको अवधि एक वर्ष रहने तथा तोकिएको सीमाभित्र आवश्यकताअनुसार पटक–पटक दाबी गर्न सकिने व्यवस्था समेत रहेको जानकारी विद्यालयले दिएको छ।
विद्यालयका प्रिन्सिपल श्री प्रदीप ओली ले विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले यो योजना लागू गरिएको बताउँदै यसलाई विद्यालयको महत्वपूर्ण र अनुकरणीय पहलका रूपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले शिक्षण–सिकाइसँगै विद्यालय परिवारको स्वास्थ्य, सुरक्षा र कल्याणप्रति विद्यालय सदैव जिम्मेवार रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो।
विद्यालयका अध्यक्ष ललित जंग शाह ले सुरक्षित, जिम्मेवार र गुणस्तरीय शैक्षिक वातावरण निर्माण गर्ने विद्यालयको प्रतिबद्धता अनुसार यो सुविधा सञ्चालनमा ल्याइएको बताउनुभयो।
