तुलसीपुर, ३१ असार । शिक्षा क्षेत्रमा सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै तुलसीपुर उद्योग व्यापार संघले नेपाल उद्योग व्यापार महासंघको पाँचौँ स्थापना दिवसको अवसर पारेर तुलसीपुर उपमहानगरपालिका–५, गैरापातु स्थित श्री जनश्रमिक आ बि विद्यालयका विद्यार्थीहरूलाई कापी तथा कलम वितरण गरेको छ। विद्यार्थीहरूको अध्ययनलाई थप सहज, प्रभावकारी र प्रेरणादायी बनाउने उद्देश्यले आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वेदबहादुर वलीको अध्यक्षता रहेको थियो।
कार्यक्रममा नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय सचिव मिनराज भण्डारी प्रमुख अतिथि तथा महासंघका केन्द्रीय सदस्य शेषकान्त ढकाल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुशिला भट्टराई, शिक्षक, विद्यार्थी, अभिभावक तथा तुलसीपुर उद्योग व्यापार संघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। विद्यालय परिवारले शिक्षा क्षेत्रमा निजी क्षेत्रको यस्तो सहयोगले सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए। तुलसीपुर उद्योग व्यापार संघका कोषाध्यक्ष इन्द्रबहादुर बस्नेतको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रमको सहजीकरण संघका महासचिव कृष्णबहादुर पुनले गर्नुभएको थियो।


