
एसईई २०८२ मा जीवन ज्योती इङ्ग्लिश मिडियम स्कुलको उत्कृष्ट नतिजा, मिनाक्षी देबकोटाले ल्याइन् ४.०० GPA
दाङको तुलसीपुर–८ कृष्णमन्दिरस्थित जीवन ज्योती इङ्ग्लिश मिडियम स्कुल ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्दै आफ्नो शैक्षिक उत्कृष्टतालाई पुनः प्रमाणित गरेको छ ।
विद्यालयकी प्रतिभाशाली छात्रा मिनाक्षी देबकोटाले परीक्षामा उत्कृष्ट प्रदर्शन गर्दै ४.०० GPA प्राप्त गर्न सफल भएकी छन् । उनको यस उपलब्धिले विद्यालय परिवारसँगै अभिभावक र शुभचिन्तकहरूमा खुसी थपेको छ ।
यस वर्ष विद्यालयबाट एसईई परीक्षामा सहभागी १७ जना विद्यार्थीमध्ये अधिकांशले उत्कृष्ट नतिजा हासिल गरेका छन् । विद्यार्थीहरूले २.६९ देखि ४.०० GPA सम्म प्राप्त गर्दै विद्यालयको गरिमा उच्च बनाएको विद्यालयले जनाएको छ ।
विद्यालयका प्रिन्सिपल विष्णु कमल न्यौपाने ले विद्यार्थीहरूको सफलताप्रति खुसी व्यक्त गर्दै सम्पूर्ण उत्तीर्ण विद्यार्थीलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभएको छ ।
त्यसैगरी विद्यालयका सञ्चालक समितिका अध्यक्ष जितबहादुर खड्का ले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गर्दै आगामी दिनमा अझ मेहनत र अनुशासनका साथ अघि बढ्न हौसला प्रदान गर्नुभएको थियो ।
विद्यालय परिवारले आगामी दिनमा पनि गुणस्तरीय शिक्षा, अनुशासन र उत्कृष्ट नतिजालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
