

९- भदौ । आर्जेन्टीनाका फुटबल खेलाडी लिओनेल मेस्सीले उनले आफ्नो सम्पूर्ण व्यावसायिक खेल जीवन गुजारेको स्पेनी क्लब बार्सिलोनाबाट अलग्गिन चाहेको जनाएका छन्।
उनका वकिलहरूले फ्याक्स पठाएर क्लबसँगको करारमा रहेको उनलाई तत्काल जान दिन मिल्ने प्रावधानको प्रयोग गरिएको बताए।
बार्सिलोनाले भने त्यो प्रावधान जुन महिनामा नै अन्त्य भइसकेको बताएको छ।
तर मेस्सी चाहिँ कोरोनाभाइरस महामारीका कारण यो वर्ष खेल तालिकामा भएको फेरबदलले गर्दा सो प्रावधान पनि लम्बिने विश्वास गर्छन् ।
यो महिनाको सुरुमा च्याम्पियन्स लिग अन्तर्गतको खेलमा बार्सिलोना क्लबले बायर्न म्युनिखसँग ८-२ को लज्जाजनक हार बेहोरेको थियो।
क्लबको नेतृत्वसँग पनि मेस्सीको टकराव भएको थियो।
फुटबल च्याम्पियनहरूलाई प्रदान गरिने बालन डो’र उपाधि छ पटक जितेका मेस्सीले बार्सिलोना क्लबमा सन् २००४ देखि खेल्न थालेका हुन्।
यो अवधिमा उनले क्लबलाई चारपटक च्याम्पियन्स लिगको विजेता बन्न मद्दत गरे।
