Fri. Oct 4th, 2024

जेष्ठ-१०।

वरिष्ठ नेता माधवकुमार नेपालसँग जोडिएका केही युवाले कलम चिह्न लिएर नयाँ पार्टी दर्ता गरेका छन् । एमालेको अन्तर्विरोध चर्किएर पार्टी फुटको दिशामा अगाडि बढिरहेका वेला नेपालसँग जोडिएका केही युवाले निर्वाचन आयोगमा एक महिना अगावै नयाँ पार्टी दर्ता गरेको खुलासा भएको हो ।

गत ७ वैशाखमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत र चुनाव चिह्न कलम हुने गरी निर्वाचन आयोगमा दर्ता भएको प्रस्तावित पार्टी अध्यक्ष जीवन राईले बताए । करिब दुई दशक अनेरास्ववियुको राजनीतिमा संलग्न राई अघिल्लोपटक वरिष्ठ नेता नेपाल समूहबाट अनेरास्ववियुको उपाध्यक्षमा पराजित भएपछि जिम्मेवारीविहीन थिए । यद्यपि, उनले आफू अहिले पार्टीको कुनै जिम्मेवारीमा नरहेको र नेपालको जानकारीविनै पार्टी दर्ता गरेको दाबी गरे । 

‘पार्टी दर्ताका लागि पाँच सयको हस्ताक्षरसहित निवेदन दिएको ३३ दिन भएको छ, ४५ दिनभित्र दर्ता प्रक्रिया पूरा हुने भएकाले प्रमाणपत्र लिन बाँकी छ,’ राईले भने, ‘तर, हामीले कुनै नेताको योजना र निर्देशनमा होइन, स्वतन्त्र हिसाबले साथीहरूसँगको परामर्शमा दर्ता गरेका हौँ ।’ 

राईको प्रस्तावित पार्टीमा २५ सदस्यीय केन्द्रीय कमिटी र पाँच सदस्यीय पदाधिकारी छ । उपाध्यक्षमा कास्कीकी कल्पना गुरुङ, महासचिवमा काभ्रेका विनोद खुलाल, सचिवमा ऐनविक्रम कुँवर र कोषाध्यक्षमा अर्घाखाँचीका सुशील खनाल छन् । राई भने संखुवासभाका हुन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *