

१३भदौ । गोपाल गिरी पाकिस्तानको वित्तीय राजधानी मानिने कराँची सहरमा बाढीका कारण २३ जनाको मृत्यु भइसकेको छ ।
अविरल वर्षासँगै आएको बाढी र डुबानले गर्दा शुक्रबारसम्म २३ जनाको मृत्यु भएको हो । शुक्रबार सहरको जनजीवन थप प्रभावित बनेको छ । यहाँ बिजुलीको लाइन काटिनुका साथै टेलिफोन सेवा समेत अवरुद्ध बनेको छ ।
कराँची प्रहरी प्रमुख घुलाम नबी मेमनका अनुसार महिला र बालबालिका सहित कम्तिमा २३ मानिसको मृत्यु भएको छ । बाढीसँगै पर्खाल भत्किनुका साथै विभिन्न दुर्घटनाबाट पनि मृत्यु भएको हो ।
यससँगै सिन्ध प्रान्तका मुख्यमन्त्री मुराद अली शाहले बाढीबाट विस्थापित बनेका परिवारलाई बसोबासका लागि स्कुल खुला गरिदिन आदेश दिएका छन् । त्यसो त, बाढीका कारण ठूलो संख्यामा मानिसहरु विस्थापित बनेका छन् । सरकारी अधिकारीहरुका अनुसार कराँचीमा अगस्ट महिनामा भएको वर्षा ८९ वर्षपछिकै ठूलो हो ।
