Mon. Dec 2nd, 2024

मङ्सिर १७

जगत पुन । अर्जेन्टिनाको मात्र एउटा शिर्ष फुटबल खेलाडी नभएर विश्वभरको फुटबल खेलाडीको रूपमा आफ्नो छुट्टै अस्तित्व र पहिचान बनाउन सफल एक महान खेलाडी थिए,म्याराडोना।उनको वास्तविक नाम डिएगो अर्मान्डो म्याराडोना थियो।उनको जन्म ३० अक्टुबर,१९६० मा अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्सको लानस भन्ने ठाउँमा एउटा गरिब परिवारमा भएको थियो।उनी सानैदेखि नै फुटबलप्रति बढि रूचि राख्ने गर्दथे। जसको कारण आठ वर्षको कलिलो उमेरमा नै उनले बोका जुनियर्सको लागि पहिलोपटक ट्रायल दिएका थिए।पछि सन् १९७६ मा आएर उनले आफ्नो पहिलो डिभिजन डेब्यु गरेका थिए भने त्यसको चार महिनापछि राष्ट्रिय टोलीसँगै डेब्यु गर्ने अवसर पाएका थिए।त्यसबेला उनी यो उमेरका सबैभन्दा कान्छो अर्जेन्टिनी थिए। त्यसपछि सन् १९७७ को फेब्रुअरी २७ मा हङ्गेरीविरूद्ध डेब्यु गरेको म्याच नै उनको पहिलो अन्तर्राष्ट्रिय फुटबल म्याच हुन गएको थियो।अनि सन् १९७८ मा आफू कम उमेरको भएको महशुस गरि उनले विश्वकपमा भाग लिन सकेनन् ।तर सन् १९७९ मा उनले जापानमा आयोजित फिफा अन्डर ट्वान्टीको विश्वकपमा भने सामेल भई अर्जेन्टिनालाई विश्वकप च्याम्पियनशिपमा पुर्याएका थिए।यसबेला भने उनले बेस्ट प्लेयरको रूपमा गोल्डेन बल अवार्ड प्राप्त गर्न सफल भएका थिए।

उनले अर्जेन्टिनोज जुनियर्स, बार्सिलोना,नापोलीजस्ता थुप्रै टिममा आबद्ध भई फुटबल खेल खेल्ने गरेका थिए।आफ्नो २१ वर्षे लामो पेसागत खेल जीवनमा उनले जम्मा ६८१ ओटा म्याच खेलेका थिए।जसमा जम्माजम्मी ३४४ गोल गर्न सफल भएका थिए।अर्जेन्टिनाको लागि भने उनले ९१ ओटा खेल म्याच खेलेका थिए र त्यसमा जम्मा ३४ गोल गर्न सफल भएका थिए।हुन त उनले सन् १९८२,१९८६,१९९० र १९९४ मा गरी जम्मा चारपटक विश्वकप खेल्ने अवसर पाएका थिए।तर सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप उपाधी दिलाएपछि मात्र उनी रातारात फुटबलका सुपरस्टार बन्न सफल भएका थिए।यस विश्वकपले उनलाई बेस्ट प्लेयरको रूपमा गोल्डेन बल अवार्ड पनि प्रदान गरेको थियो।

१९८० को दशकमा उनको नामको व्यापक प्रचारप्रसार हुने गर्दथ्यो। त्यसबेला उनले इङ्ग्ल्यान्ड्विरूद्ध गरेको दुईओटा गोल बढी यादगार मानिन्छ।जसअनुसार इङ्ग्ल्यान्डविरूद्धको क्वाटरफाइनलमा उनको बायाँ हातबाट गोल बनाइएको थियो।जसलाई रेफ्रीले गल्तिले बलले उनको टाउकोमा लागेर भएको गोल भनेर सोचेका थिए।जसलाई विश्व फुटबल इतिहासमा ‘ह्यान्ड अफ गड’ गोल अर्थात् भगवानको हातबाट बनाइएको गोल भनेर सम्झिने गरिन्छ भने अर्को गोल भने उनले मिडफिल्डमा बल कब्जा गरेपछि सातजना अङ्ग्रेजी फुटबल खेलाडीलाई पछाडी पारी गोलकिपरलाई पनि पछाडि पारी दस सेकेण्डमा गोल गर्न सफल भएका थिए।जसलाई फिफा डट कमले सन् २००२ मा आएर २० औं सताब्दीको लागि गोल अफ सेन्चुरीको नाम दिएको थियो।तर पछि उनी बिस्तारैबिस्तारै कोकिन र अल्कोहलजस्ता नशालु पदार्थको सिकार बन्न पुगे।जसको कारण उनी फुटबलमा सोचेअनुरूप होमिन सकेनन् र सन् १९९७ को अक्टुबर २५ मा उनले खेल जीवनबाट सन्यास लिए।
यसरी सन् १९७६ बाट औपचारिक रूपमा खेल जीवन शुरू गरेका म्याराडोनाले सन् १९९७ मा त्यो यात्रा अन्त्य गरेका थिए।यस अवधिमा उनले आफूलाई एउटा अट्याकिङ मिडफिल्डर र फरवार्डरका साथै एउटा कडा स्ट्राइकरको रूपमा पनि आफ्नो बेग्लै पहिचान बनाएका थिए।फिफाले सन् २००२ मा आयोजना गरेको २० औं शताब्दीको ‘प्लेयर अफ द सेन्चुरी’ अर्थात् सर्वश्रेष्ठ शताब्दी खेलाडीको अन्लाइन भोटिङमा उनले सबैभन्दा बढी ५३.६० प्रतिशत अन्लाइन भोट प्राप्त गरी पहिलो स्थान ओगट्न सफल भएका थिए।जबकि ब्राजिलका फुटबल सुपरस्टार पेलेले भने १८.५३ प्रतिशत अन्लाइन भोट हासिल गरी दोस्रो स्थान ओगटेका थिए।
म्याराडोना मात्र एउटा यस्तो खेलाडी थिए जसले सन् १९७९ को अन्डर ट्वान्टीको वर्ल्डकप र सन् १९८६ को फिफा वर्ल्डकपको गरी बेस्ट प्लेयरको रूपमा पहिलोपटक दुईओटा गोल्डेन बल अवार्ड प्राप्त गर्न सफल भएका थिए।उनले ‘साउथ अमेरिकन फुटबलर अफ द इयर’,’इटालियन च्याम्पियन’जस्ता थुप्रै अवार्ड तथा ट्रोफिहरू पनि प्राप्त गरेका थिए।तर फुटबल प्रशिक्षकको रूपमा भने उनले सन् १९९४ देखि सन् २०२० सम्म आइपुग्दा जम्मा आठओटा टिमहरूको व्यवस्थापन गर्ने जिम्मा लिएका थिए।जसमध्ये जिम्नासिया डे ला प्लाटा उनकोअन्तिम टिम थियो।उनको जीवनमा आधारित विभिन्न किताबहरू लेखिनुका साथै उनको जीवनमा आधारित ‘डिएगो अर्मान्डो म्याराडोना’ नामक १३० मिनेटको लामो डकुमेन्ट्री फिल्म पनि बनेको छ।जसमा उनी स्वयम् नै मुख्य पात्र रहेका छन् ।
उनले सन् २००८ मा अर्जेन्टिनाको राष्ट्रिय टोलीको प्रशिक्षकको रूपमा पनि काम गर्ने अवसर पाएका थिए।तर सन् २०१० को विश्वकपमा अर्जेन्टिनाले जर्मनीबाट चार गोल खाएर नराम्रो हार बेहोरेसँगै राष्ट्रिय प्रशिक्षक पेशाको औपचारिक रूपमा अन्त्य भएको थियो।यसरी विभिन्न उतारचढाबका बाबजूद पनि पेलेभन्दा २० वर्षले कान्छा फुटबल खेलाडीको सन् २०२० को नोभेम्बर २५ तारिखका दिन हृदयघातका कारण अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्सको टिग्री शहरमा ६० वर्षको अल्पायुमा निधन हुन गयो।र,विश्व फुटबलका एक महान खेलाडी सदाका लागि कहिले नफर्किनेगरी अस्ताए।उनको आत्माले स्वर्गमा बास पाओस् ।उनी यो संसारमा नरहेपनि उनले विश्व फुटबल जगत् मा दिएको अतुलनिय योगदानका कारण विश्वभर उनको महिमा कहिले कम हुनेछैन।

लेखक:जगत् पुन
ठेगाना:तुलसीपुर-५ न्युरोड,दाङ
हाल किर्तिपुर-१०,काठमाण्डौँ
आबद्ध:’Jagat bhitrako jagat’ युट्युब च्यानलका कार्यक्रम संचालक तथा प्रबन्ध निर्देशक

Leave a Reply

Your email address will not be published. Required fields are marked *